इच्छाकामनाको सार्वजनिक सुनुवाइ: योजना कार्यान्वयनमा चुनौती, कृषि र फोहोरमैला व्यवस्थापनमा जोड

 –गौतम गिरी | सेतोनेपाल

इच्छाकामना, ३२ असार।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सुनुवाइका क्रममा आर्थिक, सामाजिक तथा भौतिक विकास योजनाको कार्यान्वयनमा देखिएका समस्या, चुनौतीहरू र समाधानका उपायहरू समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो।

कार्यक्रमको अध्यक्षता कार्यवाहक प्रमुख माया सिलवालले गरेकी थिइन् भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

७७ करोडको बजेट, ८५ प्रतिशतभन्दा बढी खर्च –

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ७७ करोड ८८ लाख ९२ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ६६ करोड ७३ लाख २९ हजार ३४१ रुपैयाँ खर्च गरिएको छ।

  • पुँजीगत खर्च : २९ करोड ३७ लाख ३६ हजार ८१० रुपैयाँ (८७.२९%)

  • चालु खर्च : ३७ करोड ३५ लाख ९२ हजार ५३१ रुपैयाँ (८४.२७%)

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार, बजेट कार्यान्वयन सन्तोषजनक भए पनि समन्वय र स्रोतसाधन अभावका कारण केही क्षेत्रमा लक्ष्यअनुसारको प्रगति हासिल गर्न चुनौती रहेको जनाइएको छ।

राजस्व शाखाबाट ३५ करोडभन्दा बढी आम्दानी

गाउँपालिकाले विभिन्न स्रोतहरूबाट उल्लेखनीय राजस्व संकलन गरेको छ।
राजस्व स्रोत अनुसार आम्दानी विवरण:

  • लामोझरना आम्दानी : रु. २०,६९,०००

  • उपरदाङ्गढी आम्दानी : रु. १२,७५,०००

  • केवलकार आम्दानी : रु. ३,३७,४४,४४३.३५

  • इच्छाकामना मन्दिर भेटी आम्दानी : रु. ७५,७८५

जम्मा राजस्व आम्दानी : रु. ३५,१६,६४,२२८.३५

समस्या र चुनौतीहरू-

प्रस्तुत प्रतिवेदनअनुसार योजना कार्यान्वयनको क्रममा समन्वयको अभाव, समयमा अनुदान नआउनु, ढिलो बजेट स्वीकृति, प्राविधिक जनशक्तिको अभाव, भौतिक पूर्वाधार निर्माणमा ढिलाइ, निगरानी प्रणालीको कमजोरीजस्ता प्रमुख समस्या र चुनौतीहरू देखिएका छन्। सूचनाको अभाव, संस्थागत व्यवस्थापनमा कमजोरी, सामाजिक दबाब र सार्वजनिक सरोकारको प्रभावले विकास कार्य प्रभावित भएका उल्लेख गरिएको छ।

सुधारका सिफारिसहरू-

योजनालाई प्रभावकारी बनाउन प्रतिवेदनले विभिन्न सिफारिसहरू गरेको छ, जसमा:

  • मध्यम अवधिको खर्च संरचना निर्माण

  • पूर्वसम्झौतामा आधारित छोटो प्रक्रिया प्रणाली लागू

  • सीमित स्रोतमा सार्वजनिक सेवा विस्तार

  • कृषि, पर्यटन, शिक्षा क्षेत्रमा लगानी जोड

  • राजस्व तथा खर्च प्रणाली सुधार

  • अन्तर सरकारी समन्वय विस्तार

  • नयाँ विकास मोडेल तथा परीक्षणको अवलम्बन
    लगायतका बुँदाहरू समेटिएका छन्।

कृषि तथा पशुपालनमा उल्लेखनीय प्रगति-

प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा बाख्रा प्रवर्द्धन र कृषि उत्पादन कार्यक्रमहरूमा उल्लेखनीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।

वडा नं. ६ मा ७ लाख रुपैयाँको बजेटमा ५० प्रतिशत साझेदारीमा ८ वटा व्यवसायिक साइडसिटिङ बाख्राखोर निर्माण गरिएको छ भने ११ वटा निवासीय खोर निर्माण र ५ वटा व्यवसायिक फर्मलाई बाख्रा बोकाको वितरण भएको छ। कुल ५० जना लाभग्राहीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा ७५ प्रतिशत प्रगति भएको बताइएको छ।

त्यस्तै, एक वडा, एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत ५० लाखको बजेटमा बाख्राखोर निर्माण, बीउ पार्टी, बाख्रा बोकाको वितरण, डाले घाँसको बेर्ना वितरण र तालिम सञ्चालन जस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्। हालसम्म १४ वटा खोर निर्माण भइसकेको छ भने कार्यक्रम ६७ प्रतिशत प्रगति हासिल गर्दै अगाडि बढिरहेको छ।

व्यवसाय तथा संस्थाको अद्यावधिक विवरण-

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म १०३ नयाँ व्यवसाय दर्ता, ११९ व्यवसाय नविकरण, २ वटा घ वर्ग निर्माण व्यवसाय दर्ता र नविकरण, २१ वटा संस्था दर्ता, ७ वटा खानेपानी मुहान अनुमतिपत्र जारी गरिएको छ। यसैगरी, २५ वटा व्यवसाय बन्द गरिएका छन्।

गाउँपालिकाले व्यवसाय तथा संस्थाको दर्ता, नविकरण र बन्द प्रक्रियालाई पारदर्शी ढंगले अगाडि बढाउँदै आएको जनाएको छ।

फोहोरमैला व्यवस्थापनतर्फ तत्परता

गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई चुनौतीपूर्ण विषय मानेर यसको दीर्घकालीन समाधानका लागि व्यवस्थित संकलन, वर्गीकरण र प्रशोधन प्रणालीको तयारी गरिरहेको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु