सिमलतालमा मिनी ट्रक सडकबाट त्रिशूली किनारमा खस्यो, दुई जना घाइते

चितवन, ३२ असार। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट भारततर्फको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ।

भारतको लखनउबाट काठमाडौं जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक सोमबार बिहान आफैं अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा ट्रक चालक लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना भएको स्थान, भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल, विगतमा पनि घातक दुर्घटनाको स्मरणसँग जोडिएको छ। ठीक एक वर्षअघि, २०८१ असार २८ गते, यही स्थानबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ३९ जना यात्रु बेपत्ता भएका थिए। ती बसहरूमा ६२ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए भने २० जनाको शव फेला परेको थियो। बाँकीको हालसम्म पनि अत्तोपत्तो छैन।

सिमलताल सडकखण्डलाई जोखिमयुक्त बिन्दुको रूपमा चिनिन्छ। यहाँ नियमितरूपमा सडक सुरक्षा व्यवस्थापन र सावधानीका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित गरिनुपर्ने स्थानीयवासीको माग छ।

 

तस्बिर: AI

Share:

सम्बन्धित समाचारहरु