माडीका उत्कृष्ट शिक्षक सुमादेवी र वीरेन्द्रलाई नगद पुरस्कारसहित सम्मान

 -सेतोनेपाल संवाददाता 
माडी, , २६ असार । माडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षकलाई उत्कृष्ट शिक्षकको रूपमा नगद पुरस्कारसहित सम्मान गरेको छ।

माडी–८ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, दक्षिण अयोध्यापुरीमा कार्यरत वालविकास शिक्षक तथा सिकाइ प्रशिक्षिका सुमादेवी (सोमा) पन्तलाई उत्कृष्ट शिक्षकको उपाधि सहित नगद पुरस्कार प्रदान गरिएको हो। विद्यालयमा नमुना शिक्षकको रूपमा उनले देखाएको निष्पक्षता, समर्पण र योगदानले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको प्रशंसा गरिएको छ।

त्यस्तै, माडी–३ रतनी धोबाहा स्थित बाढीग्रस्त रा.आ.वि. रतनी धोबाहा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसाद महतोलाई पनि नगद पुरस्कार र कदरपत्रसहित सम्मान गरिएको छ। उनले विद्यालयको शैक्षिक गुणस्तर उकास्न जग्गा खोजी, भवन निर्माण तथा भौतिक पूर्वाधार व्यवस्थापनमा देखाएको पहल, नेतृत्व र समर्पणलाई उच्च मूल्यांकन गरिएको हो।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले शिक्षकहरूको समर्पण र सफलतालाई सामाजिक रूपमा प्रेरणादायक भन्दै प्रशंसा व्यक्त गरेका थिए। उनले यस्ता सम्मानले अरू शिक्षकहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

यो अवसरले स्थानीय विद्यालयहरूमा गुणस्तरीय शिक्षा र समर्पित शिक्षकहरूको महत्वलाई पुनः पुष्टि गरेको छ। —00–

तस्विरःस्वदेश एफएमबाट 

Share:

सम्बन्धित समाचारहरु