चितवन, २४ असार । चितवन प्रहरीले नारायणी नदीमा बाढी आउन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। रसुवागढीस्थित भोटेकोशी नदीमा मंगलबार बिहान तिब्बतबाट ठूलो बाढी प्रवेश गरेपछि यसको प्रभाव त्रिशूली नदी हुँदै नारायणीसम्म पर्न सक्ने देखिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार, संभावित जोखिमलाई ध्यानमा राख्दै चितवन प्रहरीले नदी किनारमा माइकिङमार्फत स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरेको छ। प्रहरीको अपिलमा नदी किनारमा नजान र खतरा हुन सक्ने क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, रसुवा-स्याप्रुबेंसीस्थित भोटेकोशी जलमापन केन्द्रमा बिहान ३:३० बजे बाढी पुगेको देखिएको हो। सो बाढी करिब ५ बजे बेत्रावती आइपुगेको र त्यहाँ करिब २.५ मिटर बहाव वृद्धि भएको महाशाखाले जनाएको छ। हाल बहाव केही घट्ने क्रममा भए पनि दिउँसोसम्म त्रिशूली नदी किनार र बुढीगण्डकी दोभान (बेनिघाट) क्षेत्रसम्म प्रभाव पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकास्थित नेपाल-चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। त्यस्तै, बाढीले टिमुरेस्थित भन्सार कार्यालय यार्डमा रहेका सयौं गाडी बगाउनुका साथै ३ जना प्रहरी, ९ जना नेपाली मजदुर र ६ जना चिनियाँ नागरिकलाई बेपत्ता बनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


