काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका छन्।
गत वर्षनै रानाविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारी भए पनि संसद्मा दुई तिहाइ नपुग्ने र त्यसबाट सरकारमाथि आलोचना बढ्ने देखिएपछि कांग्रेस–एमाले पछि हटेका थिए। यसपटक भने रानालाई पदमुक्त गराउन आवश्यक दुई तिहाइ बहुमत सुनिश्चित गर्न एकीकृत समाजवादीसँग समेत सहयोग मागिएको स्रोतले जनाएको छ।
यसबीच कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा पदाधिकारी र शीर्ष नेताबीच छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिएका छन्। आजै कांग्रेसले संसदीय दलको बैठक समेत बोलाएको छ। रानाको आचरणमा प्रश्न उठाउँदै दुई दलले उनलाई हटाउन पहल थालेका हुन्। गत वर्ष ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर प्रस्ताव दर्ता गर्ने तयारी भएको थियो।
संविधानको धारा ९१ को उपधारा (६) (ग) अनुसार पदअनुकूल आचरण नगरेको ठहर भई प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरे सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट उपसभामुख बनेकी हुन्।–0—

