देवघाटको पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको चासो, फोनिज चितवनको टोलीद्वारा अवलोकन

तनहुँ, २३ असार । देवघाट गाउँपालिकाले पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा चासो देखाएको छ। यद्यपि अघिल्ला वर्षहरूमा ती क्षेत्रको विकासमा केही काम भएको भए पनि बजेट अभावले पूर्णता पाउन सकेको थिएन। यसपालि भने प्रचारप्रसारमार्फत ती क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउने प्रयास सुरु गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनमार्फत यो प्रचारप्रसारको अभियान थालिएको हो। देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले सञ्चारलाई प्रचारप्रसारको मुख्य माध्यमको रूपमा लिँदै कार्ययोजना बनाएर अभियान अघि बढाइएको जानकारी दिए।

गत साता फोनिज चितवनको टोलीले सञ्चारकर्मीहरू सहित देवघाटका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो। भ्रमण टोलीले देवघाटधाम, गोपीटार सामुदायिक होमस्टे, छरछरे झरना, कराँदीप सामुदायिक होमस्टे, पालुराजाको मन्दिर, छिपछिपे, घण्टाचुली, प्याउलीगढी र सिञ्चाङगढी क्षेत्रको अवलोकन गरेको थियो।

फोनिज चितवन अध्यक्ष तुलमान गुरूङले देवघाट क्षेत्रमा कृषि र पर्यटनको अपार सम्भावना रहेको बताए। उनले होमस्टेहरूको सहकार्य, सञ्चारको उपयोग र प्रचारप्रसार मार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे।

गोपीटार सामुदायिक होमस्टे अध्यक्ष शमशेर गुरूङले प्रचारको अभावमा होमस्टे ओझेलमा परेको गुनासो गर्दै स्थानीय सरकार र सञ्चारकर्मीको सहकार्य आवश्यक रहेको बताए। यस्तै, कराँदीप सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष युवराज मगरले गोपीटार र कराँदीप होमस्टेबीच सहकार्य गरी छरछरे झरनालाई मुख्य आकर्षणको रूपमा विकास गर्न सकिने धारणा राखे।

गाउँपालिका अध्यक्ष थापामगरका अनुसार देवघाटका अधिकांश क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान र बस्न कुनै समस्या हुँदैन। सामुदायिक होमस्टेहरू स्थानीय परिकार र संस्कृतिको माध्यमबाट पाहुनालाई स्वागत गरिरहेको भन्दै उनले पर्यटनसँगै कृषि क्षेत्रमा समेत आम्दानी बढाउने लक्ष्यसहित काम अघि बढाइएको उल्लेख गरे।

समुद्र सतहदेखि करिब १,६५० मिटरको उचाइमा रहेको घण्टाचुली जस्तोसुकै मौसममा पनि चिसो अनुभव हुने रमणीय डाँडा हो। घण्टाचुली डाँडाबाट देखिने कुहिरो र आसपासको दृश्यले पर्यटकलाई आकर्षित गर्ने फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङले बताए।

चितवनमा डेढ दशक बिताइसकेका पत्रकार तामाङले पहिलोपटक उक्त ठाउँको भ्रमण गर्न पाउँदा निकै उत्साहित भएको सुनाए। “यस्तो ठाउँबारे सबैभन्दा पहिले स्थानीयले चासो दिनुपर्छ, त्यसपछि सरकार र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने।

 

गाउँपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर प्रत्येक वर्ष कार्यक्रम बनाएर बजेट विनियोजन गर्दै आए पनि रकम कम भएका कारण अपेक्षाअनुसार काम हुन नसकेको अध्यक्ष थापामगरको भनाइ छ। तथापि, विकासको प्रयास निरन्तर गरिरहेको र स्थानीय स्रोत र सम्भावनालाई उपयोगमा ल्याउँदै  प्रचारप्रसारमार्फत थप पर्यटक भित्र्याउने योजनामा पालिका लागेको उनले जानकारी दिए।

 

Share:

सम्बन्धित समाचारहरु