डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त, को हुन् डा. विश्व पौडेल ?

काठमाण्डौं, ६ जेठ ।  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेकोमा पहिलो नम्बरमा रहेका पौडेलले नियुक्ति पाएका हुन्। सूचीमा निलम ढुंगाना दोस्रो र दिनेश भट्टराई तेस्रो नम्बरमा थिए। राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त रहँदै आएको थियो। पद रिक्त भएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कार्यवाहक गभर्नरको रूपमा जिम्मेवारी सम्हालिरहेका थिए। कानुनी प्रावधानअनुसार गभर्नरको पद रिक्त हुनु एक महिना अगावै नयाँ नियुक्ति गर्नुपर्ने व्यवस्था भए पनि राजनीतिक रस्साकस्सीका कारण करिब डेढ महिनापछि मात्र नयाँ गभर्नर नियुक्त गरिएको हो।

को हुन् डा. विश्व पौडेल?

नवनियुक्त गभर्नर डा. विश्व पौडेल नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकट व्यक्तिका रूपमा चिनिन्छन्। उनी २०७८ साउन १२ गते देउवा नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए।

गभर्नर सिफारिस समितिमा विज्ञ सदस्यको रूपमा सहभागी भएका पौडेलले गभर्नर पदमा उम्मेदवारी दिन आफूले सदस्य पदबाट राजीनामा दिएका थिए। चितवन स्थायी घर भएका डा. पौडेलले चीनको एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका छन्।

सरकारले नियुक्त गरेको पौडेल अबको पाँच वर्षका लागि नेपाल राष्ट्र बैंकको नेतृत्व गर्नेछन्।–00–

Share:

सम्बन्धित समाचारहरु