पाटन (ललितपुर), ३० जेठ। सभामुख देवराज घिमिरेले मातृभाषा संरक्षणका लागि राज्यले स्पष्ट र प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ।
ललितपुरमा नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उहाँले मातृभाषामा सञ्चालित पत्रकारिता विभिन्न चुनौतीको सामना गरिरहेको भन्दै त्यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सभामुख घिमिरेले सम्मेलनबाट तयार हुने नीतिगत दस्तावेजले मातृभाषा संरक्षण र राष्ट्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक परिवर्तनहरूलाई संस्थागत गर्न र देशका १२४ जातजाति तथा लोपोन्मुख भाषाको संरक्षणका लागि काम भइरहेका छन्। रासस, गोरखापत्र र अन्य सार्वजनिक प्रसारण संस्थाहरूले ६२ भाषामा सञ्चारको प्रयास गरिरहेका छन्, जुन सकारात्मक कार्य हो।”
उहाँले सम्मेलनले विभिन्न जातजातिको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। साथै, मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, विकासको प्रवृत्ति र अन्तर्राष्ट्रिय अनुभवबारे जानकारी लिन मद्दत पुग्ने उहाँको भनाइ थियो। “यसले नेपालमा मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउन योगदान गर्नेछ,” उहाँले थप्नुभयो।
सभामुखले नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा सुरु गरिएको मातृभाषा पत्रकारिताको १०१औँ वार्षिकीको अवसरमा आयोजना गरिएको यो सम्मेलन विशेष महत्वको भएको बताउनुभयो।
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले मातृभाषा पत्रकारिता समुदायमा सूचना प्रवाहको सशक्त माध्यम भएको बताउँदै, यसलाई प्रवर्द्धन गर्न निरन्तर काम भइरहेको उल्लेख गर्नुभयो।
सम्मेलन संयोजक तथा नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले मातृभाषा पत्रकारिताले हरेक राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको र सामाजिक–सांस्कृतिक चेतना जगाउन महत्वपूर्ण योगदान दिएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालको संविधानले सबै भाषालाई राष्ट्रभाषाको मान्यता दिएको उल्लेख गर्नुभयो।
त्यसैगरी, दबूका महासचिव केके मानन्धरले १३ वर्षअघि स्थापना भएको संस्थाले अभिव्यक्ति स्वतन्त्रताको पैरवी, समावेशी पत्रकारिता र मातृभाषाको प्रवर्द्धनका लागि निरन्तर सक्रिय भूमिका खेल्दै आएको जानकारी दिनुभयो।
गौरतलब छ, यसअघि २०८१ जेठ १९ र २० गते प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो।–000–


