माडीको अयोध्यामार्गमा पपुलर सैलुनको वृक्षारोपण

रेशम सापकोटा — सेतो नेपाल

चितवन ( माडी )२२ असार ।  भरतपुरस्थित पपुलर युनिसेक्स सैलुनको आयोजनामा माडी नगरपालिका–८ अयोध्यमार्ग र वैकुण्ठधाम परिसरमा आज वृक्षारोपण र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो चरणमा फुलबारी आमा समूह परिसरको बाटोका दायाँबायाँ चेरी, दालचिनी, आप, अमला, अम्बा, सरिफा, बयर, नासपाती, कटहर, लिची, कालो जामुन, अनार र भोगटेजस्ता फलफुलका बिरुवाहरू पपुलर सैलुनले निःशुल्क उपलब्ध गराई वृक्षारोपण गरिएको थियो। त्यस क्रममा सोही क्षेत्रमा सरसफाइ समेत सञ्चालन गरिएको थियो।

दोस्रो चरणमा सहभागी टोली वैकुण्ठधाम परिसर पुगेको थियो, जहाँ वैकुण्ठेश्वर महादेव मन्दिरको दर्शन, चौर, ताल, झरना, वरपरको जंगल र करिब ७ सय मिटर लामो सिँढी मार्ग क्षेत्रको सरसफाइ गरिएको थियो। साथै मन्दिर, झरना र ताल क्षेत्रको अवलोकनसमेत गरिएको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता, टोल विकास संस्था, धाम समितिका सदस्य,पपुलर युनिसेक्स सैलुन परिवार, फुलबारी आमा समूहका सदस्यहरू, स्थानीय युवा र सैलुनमा सिप सिकिरहेका ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

फुलबारी आमा समूहकी अध्यक्ष सुजिता पाण्डेले पपुलर युनिसेक्स सैलुनको पहलमा गरिएको वृक्षारोपण र सरसफाइ अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो ।

वैकुण्ठधाम विकास समितिका अध्यक्ष राजकुमार नेपालीले धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सहभागिता बढ्नु सकारात्मक संकेत भएको बताउनुभयो । “मन्दिर दर्शनसँगै प्राकृतिक स्थलहरूको सरसफाइ र अवलोकनले समुदायमा संरक्षणको चेतना फैलाउँछ,” वहाँले भन्नुभयो ।

माडी नगरपालिका–८ का वडा अध्यक्ष बिरेन्द्र बहादुर भण्डारीले यस्ता सामूहिक सामाजिक कार्यक्रमहरूले वातावरणीय तथा सांस्कृतिक चेतनामा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्दै पपुलर सैलुन र फुलबारी आमा समूहलाई धन्यवाद व्यक्त गर्नु भयो।

पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देल (रामप्रसाद)ले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउँदै सैलुनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जानकारी दिए। उनका अनुसार, २०८२ साल असार १६ गते पनि यही क्षेत्रमा निःशुल्क सेवा, सरसफाइ र चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमपछि साझ आयोजक टोली भरतपुर फर्किएको थियो। त्यसक्रममा भरतपुर–२२, पटिहानि स्थित अम्ब्रेला स्टेटको स्थलगत अवलोकनसमेत गरिएको थियो। सहभागी विद्यार्थीहरूले हर्षित हुँदै यस्ता कार्यक्रमबाट सामाजिक चेतना, सिप र व्यवहारिक अनुभवको ठूलो लाभ प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।

Share:

सम्बन्धित समाचारहरु