चितवन, २० असार – चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्ने क्रममा गोहीले तानेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय अभिषेक माझी रहेको प्रहरीले पुष्टि गरेको छ। उनी अन्दाजी स्थानीय राजकुमार माझीसँग असार १९ गते राति करिब ९ बजे माछा मारिरहेका बेला गोहीको आक्रमणमा परेका थिए।
उनी बेपत्ता भएको सूचना अस्थायी प्रहरी पोष्ट मैनाहामा राति ९:३५ बजे प्राप्त भएपछि तत्काल खोजी कार्य थालिएको थियो। अस्थायी प्रहरी पोष्ट मैनाहाका प्रमुख सोमिराम प्रजा र इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक मनिष श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।
लगातारको खोजीपछि असार २० गते बिहान १:२० बजे माझीको शव माछा मारेको स्थानबाट करिब २०० मिटर उत्तरतर्फ बुढी राप्ती खोलामै फेला परेको हो। शव फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षक जय नेपाल थापाको नेतृत्वमा मुचुल्का टोली खटिएको थियो।
राजकुमार माझी भने सकुशल रहेका छन्। प्रहरी घटनाबारे थप अनुसन्धानमा जुटिरहेको छ।


