काठमाण्डौं, १९ असार । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भई सोमबार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि उनी बिहीबार आफैं अदालतमा हाजिर भएका थिए। न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा पाठकविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो। ‘साइबर ब्युरो ५९’ को नाममा परेको जाहेरीमा निवेदकले आफ्नो तस्बिर प्रयोग गरी ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षकमा सामग्री प्रसारण गरिएको उल्लेख गरिएको थियो।
निवेदकले सो सामग्रीमार्फत आफूविरुद्ध घृणा, द्वेष फैलाउने, मानहानी हुने र चरित्र हत्या गर्न खोजिएको भन्दै उजुरी दिएका थिए। उजुरीका आधारमा पाठकविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको थियो।–00–


