कालिका नगरपालिकामा पशुपालक किसानलाई अनुदानमा आधुनिक उपकरण वितरण

चितवन, ३ असार ।– चितवनको कालिका नगरपालिका अन्तर्गत पशुपालक किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरिएको छ। नगरपालिकाको पशु सेवा शाखाको पहलमा उत्पादन बढाउन र लागत घटाउनका लागि उपकरण वितरण गरिएको हो।

पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई ८० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन (च्याफकटर), पशुपक्षीको दाना बनाउने मेसिन, ठेलागाडा वितरण गरेको छ भने ७० प्रतिशत अनुदानमा काउम्याट समेत वितरण गरिएको छ।

कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा. राजु प्रसाद न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८१/८२ को १० लाख ८० हजार रुपैयाँको बजेटबाट ८ जना किसानलाई च्याफकटर, ८ जनालाई दाना मेसिन, १६ जनालाई ठेलागाडा र ४४ जनालाई २/२ वटा काउम्याट वितरण गरिएको हो।

उपकरण वितरण कार्यक्रम नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले संयुक्त रूपमा उद्घाटन तथा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रेग्मीले, “हामी किसानलाई सतप्रतिशत अनुदानमा उपकरण दिन चाहन्थ्यौं तर त्यसरी दिँदा सामग्रीको संरक्षण हुँदैन। किसानले आफैं २० प्रतिशत रकम तिर्दा उनीहरूमा जिम्मेवारी बोध हुने विश्वास लिएका छौं,” भन्दै उपकरणको दिगोपनाका लागि सहभागितामूलक अनुदान प्रणाली अपनाइएको बताए।

आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख तामाङ, वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का अध्यक्ष टिकाराम रेग्मी, वडा नं. ७ का अध्यक्ष कमलराज मुक्तान, पशु विकास अधिकृत ईश्वरप्रसाद पौडेलसहित पशु शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु