नयाँ दिल्ली, २९ जेठ । । अहमदाबादस्थित विमानस्थलबाट लण्डनका लागि उडान भरिरहेको एयर इण्डियाको फ्लाइट नम्बर १७१ आज बिहान टेक अफ गरेपछि केही बेरमै आकाशमै आगलागी भई दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उद्धारकर्मी र सुरक्षा अधिकारीहरूले विमानमा सवार यात्रु र चालक दलका सदस्यहरू जीवितै उद्धार हुने सम्भावना अत्यन्त न्यून रहेको बताएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार विमान आकाशमै केही पर पुगेपछि आगो लागेको देखिएको थियो। जमिनमा खस्दा विमान पूर्णरूपमा जलेर खरानी भएको विवरण प्राप्त भएको छ।
हालै सार्वजनिक भएको दृश्यमा घाइते यात्रुहरूलाई उद्धार गरी अस्पताल पुर्याउने प्रयास भइरहेको देखिए पनि आधिकारिक रूपमा हताहतीको संख्या सार्वजनिक गरिएको छैन। धेरै यात्रुको जीवितै उद्धार गर्न नसकिएको प्रारम्भिक विवरणहरू आएका छन्।
एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटरमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, “यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवारप्रति कम्पनीको तर्फबाट समवेदना प्रकट गर्दछु,” भनेका छन्। उनले प्रभावित यात्रुहरूका परिवारलाई सहायता पुर्याउनु एयर इण्डियाको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।
दुर्घटनापछि अहमदाबाद विमानस्थल तत्कालका लागि बन्द गरिएको छ। त्यहाँबाट अस्पताल जाने बाटोमा सर्वसाधारण सवारीसाधनलाई रोक लगाइएको छ भने केवल एम्बुलेन्स र दमकललाई मात्र प्रवेशको अनुमति दिइएको छ।
उल्लेखनीय छ, यसअघि सन् १९८८ मा पनि यही विमानस्थलमा भएको एक विमान दुर्घटनामा १३३ जनाको ज्यान गएको थियो।


