महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलका अनुसार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ। मतदान विद्युतीय मेसिनमार्फत हुनेछ।
बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको र मेसिनमा उम्मेदवारका नामहरू राख्ने कार्य सम्पन्न भइसकेको जानकारी पनि ढुङ्गेलले दिए।
२४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरिया बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, खुला उपाध्यक्ष पदका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, र गणेशबहादुर शाही उम्मेदवार बनेका छन्।
महिला उपाध्यक्ष पदमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं, र आरती भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ।
महासचिव पदमा भने आरके रोमश, दीपक धामी, र सुनिल कँडेल उम्मेदवार छन्।
निवर्तमान अध्यक्ष समिक बडालका अनुसार छिटोछरितो रूपमा निर्वाचन सम्पन्न गर्न र कागजी मतपत्रको झन्झट हटाउन विद्युतीय मतदान प्रणाली अपनाइएको हो।
राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिने जानकारी दिए।
महाधिवेशनमा करिब १,५४३ जना प्रतिनिधिले मतदान गर्नेछन्। हाल ५१९ जना उम्मेदवार रहेका छन्। एक जना प्रतिनिधिलाई मतदान गर्न १५ देखि २० मिनेटसम्म लाग्न सक्ने अनुमान गरिएको छ।
यसपटकको महाधिवेशन विशेष रहन गएको छ, किनभने पहिलोपटक ३२ वर्ष उमेर सीमाभित्रका उम्मेदवारबीच प्रतिस्पर्धा गराइएको छ। अनेरास्ववियुको यो महाधिवेशन जेठ २५ गतेदेखि सुरु भएको हो।


