काठमाडौं, १८ जेठ। बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व सीईओ राजेन्द्रवीर राय पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीका अनुसार रायलाई शनिबार नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरिएको हो। यद्यपि, सीआईबीले उनलाई सीमाबाट पक्राउ गरिएको भने पनि स्रोतका अनुसार उनी भारतीय भूमिबाट पक्राउ परेका हुन्। हाल उनलाई म्याद थपका लागि बाँके ल्याउने प्रक्रिया भइरहेको सीआईबीले जनाएको छ।
सल्यान स्थायी घर भएका ६५ वर्षीय राय हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए। उनी २०७६ सालदेखि २०७९ सम्म कर्णाली डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत थिए।
२०६० सालमा स्थापना भएको यस बैंकमा रायमाथि करिब ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ। अपचलनको अनुसन्धान सुरु भएपछि उनी फरार भएका थिए। बैंकको आन्तरिक छानबिनबाट पूर्व सीईओ रायसँगै वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, पूर्व सीईओ दिनेशकुमार रावत र निरजविक्रम शाह पनि उक्त अपचलनमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको छ। अपचलन प्रकरणको विस्तृत अनुसन्धानका लागि प्रहरी सक्रिय रहेको बताइएको छ।


