मध्यविन्दु, १६जेठ । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारा र दुम्कीवास क्षेत्रमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक अविरल वर्षापछि बाढीले बगाएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।
उक्त क्षेत्रमा रहेको मूल पुल भत्किएपछि अस्थायी रूपमा डाइभर्सन बनाई सवारी सञ्चालन हुँदै आएको थियो। तर, बिहीबार रातिको अविरल वर्षाले डाइभर्सन समेत बगाएपछि अहिले वैकल्पिक सडक पुनः निर्माणको काम सुरु गरिएको छ।
डाइभर्सन बगाएर सडक अवरुद्ध भएपछि चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। त्यसयता डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।–00–


