काठमाडौं , १५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताएकी छन्।
१८औं गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले गणतन्त्रलाई ऐतिहासिक राजनीतिक उपलब्धिको रूपमा व्याख्या गर्दै यसको रक्षा, प्रयोग र विकासमार्फत समुन्नत नेपाल निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरू सदा कायम राखिरहन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
उनले लेखेकी छन्- ‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन्। अनि आफ्नो देशको विकास आफँै गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ।’
साथै, पूर्वराष्ट्रपतिले मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै जनताको समृद्धिको आकाङ्क्षा साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेकी छन्।
उनले विश्वास व्यक्त गरेकी छन् कि आर्थिक रूपमा सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा गणतन्त्र दिवसले नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल तथा सरोकारवालाहरूलाई प्रेरणा प्रदान गर्नेछ।–00–


