- सेतोनेपाल संवादाता
कालिका, १२ जेठ । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित उपसेवा केन्द्रको शिलान्यास गरिएको छ। संग्रहालयसहितको भवन निर्माण गरिने उपसेवा केन्द्रको शिलान्यास सोमबार नगर प्रमुख विनोद रेग्मीले गरेका हुन्।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, समाज सेवा प्रभाग नेपालका राष्ट्रिय संयोजक वरिष्ठ राजयोगी ब्रह्माकुमार अर्जन भाइजी, प्रभागका वरिष्ठ सल्लाहकार सरस्वती कतिला, ब्रह्माकुमारी राजयोग फलेबास पर्वतकी प्रमुख संचालिका जानकी दिदीलगायतको सहभागिता थियो।
कार्यक्रममा बोल्दै मेयर रेग्मीले आध्यात्मिक चिन्तन र सकारात्मक सोचको विकास नभएसम्म समृद्ध नगर र सुखी नगरवासी बन्न नसकिने धारणा राखे। “आफ्नो हृदय सफा र शान्त बनाउन पनि आध्यात्मिक सोच आवश्यक छ,” उनले भने। धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको यस क्षेत्रमा यस्तो व्यवस्थित भवन बन्न लागेको खबरले आफूलाई उत्साहित बनाएको उनले बताए। भवन शिलन्यासँगै भवन निर्माणक्षेत्रमा नगर प्रमुख र उप प्रमुखले बरपिपलको रुखसँगै केही अमलाका विरुवा रोपेका थिए ।
निर्माण हुन लागेको भवन तीन तले हुनेछ।
-
पहिलो तलामा ५ वटा कोठा रहनेछन्।
-
दोश्रो तलामा राजयोग अभ्यासका लागि विशेष हल हुनेछ।
-
तेस्रो तलामा भान्सा (किचन) रहनेछ।
भवन निर्माणका लागि कम्तीमा १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रारम्भिक चरणमा कालिका नगरपालिकाले ४ लाख रुपैयाँ बजेट सहयोग गरेको छ। शिलान्यास कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी मुख्य संचालिका ब्रह्माकुमारी शर्मिला दिदीको अध्यक्षतामा सम्पन्न भएको हो।
सामुदायिक सहभागिता र जग्गादान
भवन १ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण हुँदैछ। यसको लागि स्थानीय समाजसेवी कमलादेवी थापा परिवारले जग्गा दान गरेका हुन्। निर्माण कार्यमा नगरवासीको श्रमदान, नगरपालिका र समुदायकै आर्थिक सहयोगमा काम अगाडि बढ्नेछ। कुनै पनि बाह्य दातृसंस्था वा विदेशी सहयोग लिइएको छैन।
कालिका नगरक्षेत्रमा हालसम्म
-
३ वटा उपसेवा केन्द्र
-
९ वटा गीता पाठशाला सञ्चालनमा छन्।
प्रत्येक वडामा कम्तीमा एक पाठशाला स्थापना गर्ने लक्ष्य राखिएको छ।
आध्यात्मिक ज्ञान र राजयोग अभ्यासद्वारा समाजको सर्वाङ्गीण विकासमा टेवा पु-याउने लक्ष्यसहित यो उपसेवा केन्द्रको निर्माण भइरहेको आयोजक पक्षले जानकारी दिएको छ।











