प्रचण्डको स्वीकारोक्ति : जनताको आलोचना गम्भीरतासाथ लिँदै पार्टी आत्मसमीक्षामा छ

काठमाण्डौं, ६ जेठ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आलोचना र सुझावलाई गम्भीररूपमा ग्रहण गर्दै पार्टी आत्मसमीक्षा प्रक्रियामा रहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानको क्रममा जाजरकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू कम्युनिष्ट एकताको प्रस्तावक रहेको दाबी गरे । “मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ,” उनले भने, “तर त्यो एकता किन टुट्यो ? यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन । त्यसैले हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।”

संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई उनले सरकारको ध्यानाकर्षण गराए । संविधान कार्यान्वयनका लागि कर्मचारीसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयकमा आफूले जोड दिइरहेको प्रचण्डले स्पष्ट पारे । उनका अनुसार यो जनसंवाद अभियान माओवादी केन्द्रका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास हो ।

कार्यक्रममा वक्ता तथा स्थानीय बासिन्दाले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेको बताउँदै नलगाड जलविद्युत् आयोजना भने प्राथमिकतामा नरहेको गुनासो राखे । प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जनताको प्रश्न र सुझावहरू ग्रहणयोग्य रहेको बताए । “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ,” उनले भने ।

भूकम्पका बेला प्रधानमन्त्री हुँदा जाजरकोटमा तत्काल उद्धार र राहत सुरु गरिएको स्मरण गर्दै उनले त्यसअनुसार काम हुन नसक्नु दुःखद रहेको टिप्पणी गरे ।

Share:

सम्बन्धित समाचारहरु