चितवन, ३० बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको चितवन जिल्ला अधिवेशनले अनुज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। सोमबार भरतपुरमा सम्पन्न जसपा नेपाल चितवनको प्रथम अधिवेशनले जोशीलाई पार्टीको जिल्ला अध्यक्षका रूपमा चयन गरेको हो।
पाटीको उपाध्यक्षमा सरस्वती वर्देवा र ईमानसिंह लामा चयन भएका छन्, जबकि सचिवको जिम्मेवारी शोभा वि.क.लाई दिइएको छ। सह-सचिवमा आशिष मियाँ र अनुरोध चौधरी चयन भएका छन्।
यसका साथै पाटीको कोषाध्यक्षमा राजु टमाटा चयन भएका छन् र २९ सदस्यीय जिल्ला कमिटी पनि गठन भएको छ।
चितवन जिल्लाको अधिवेशनमा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विधुत बज्राचार्य प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए। अधिवेशनमा पाटीका महासचिव रामकुमार शर्मा, कार्यकारिणी सदस्य तारा वि.क., वाग्मती प्रदेश अध्यक्ष जीवन तामाङ, ताम्सालिङ अध्यक्ष ज्ञानु लामा लगायत छिमेकी जिल्लाका अध्यक्षहरूको उपस्थिति थियो।–00–

