सगरमाथा आरोहण सुरु : डोरी टाँगिएसँगै यो वर्षको वसन्त अभियान प्रारम्भ

काठमाण्डौं, २७ बैशाख । यस वर्षको वसन्त सिजनको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार साँझ ५ बजे एटके एक्सपिडिसन कम्पनीबाट खटिएको सात सदस्यीय शेर्पा टोलीले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेसँगै आरोहणको ढोका खुलेको हो।

डोरी टाँग्ने (रोप फिक्सिङ्) काम यसपटक निकै चुनौतीपूर्ण भएको बताइएको छ। आधार शिविरबाट जानकारी दिँदै एक्सपिडिसन अगुवा लाक्पा शेर्पाले खुम्बु आइसफल क्षेत्रमा **ठूला ढुंगाहरू र कालो पर्खाल (कालापत्थर)**का कारण भर्‍याङ टाँग्न निकै कठिन भएको जानकारी दिए।

यही कम्पनीका पाँच जना शेर्पा टोलीले यसअघि ल्होत्से र आमादब्लम हिमालको चुचुरोसम्म डोरी टाँगेका थिए।

मौसम राम्रो, पहिलो वीन्डोमै बढी चहलपहलको अनुमान-

पर्यटन विभागका अनुसार अब बाटो खुलेसँगै मौसम अनुकूल रहेकाले पहिलो वीन्डोमै धेरै आरोही चुचुरो चुम्ने अपेक्षा गरिएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका तथ्यांक अनुसार हालसम्म ४४ आरोहण समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै १–२ समूह थपिन सक्ने अनुमान गरिएको छ।

गत वर्ष पनि यस्तै संख्याका आरोहीहरूले सगरमाथा आरोहण गरेका थिए। सगरमाथाबाट मात्रै ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको थियो भने सबै हिमालबाट ७८ करोड रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु