‘ पाठशालाको रुपमा रेडियोको विकासहुँदै ’

कालिकाको भूमीवाट गुञ्जिन थाल्यो चेपाङ समुदायको आफ्नै रेडियो

सन्तकुमार चौधरी-
कालिका, २९ साउन । रत्ननगर वडा नं. ११ बस्ने सुमी प्रजा रेडियोमा समाचार कसरी पढ्ने बारे तालिम लिन कालिका नगरपालिकाको वडा नं. ९ स्थित शक्तिखोर पुगेकी छन् । एक महिनादेखि समाचार बाचन देखि कार्यक्रम सञ्चालन, रेडियोको प्राविधिक पाटोहरुको विषयमा ज्ञान हासिल गरिरहेकी छन् । प्रजा एकता उत्थान समाजद्धारा संचालित चेपाङको आफ्नै रेडियो एफ.एम ८७ दशमलव ६ मेघाहर्जले सुमी प्रजालाई तालिम दिइरहेको छ ।

काठमाण्डांै स्थ्ति आदर्श सौल युवक माध्यमिक विद्यालयबाट पत्रकारिता विषय लिएर अध्ययन गरेकी सुमीलाई पत्रकार बन्ने रहर छ । चेपाङ समुदायका लागि चेपाङलेनै नेतृत्व गरेको रेडियोमा काम सिक्ने अवसर पाउँदा सुमी मख्ख छिन् । चेपाङ समुदायवाट पत्रकारिता क्षेत्रमा खासै उपस्थिती नभएका कारणले पनि उनलाई पत्रकार बन्ने ठूलो रहर छ । आवाज विहीनहरुको आवाज बन्ने यिनको धोको छ ।

सुमीको बुझाईमा नेपालको विकट क्षेत्रमा रहेका चेपाङहरुको अवस्थालाई पनि पत्रकारलेनै बाहिर ल्याएको हो । समाजवाट म आफैपनि हेपिएको छु उनले भनिन – मैले आफ्नो समुदायको निम्ती केहीगर्ने अटोट लिएर यो क्षेत्रमा आएको छु । सुमीलाई पत्रकारिता विषय अत्यन्तै मन पर्छ । त्यसैले उनी शक्तिखोरमै आश्रय लिएर काम सिकिरहेकी छिन् । अशिक्षा र गरिबीका कारण आफ्नो समुदायले विभेद भोग्दै आएको सुमीले राम्रोसँग बुझेकी छन्। कोही नराम्रो बनेर आयो भने तिनलाई चेपाङसँग तुलनागर्दा मन यिनको मन दुख्छ । सँगैबसेका साथीहरु बीचमा पनि चेपाङ भनेर परिचय दिँदा आफुलाई हेर्ने दृष्टीकोण फरक पाएको छु उनले थपिन–त्यो बेला असाध्यै मन दुख्छ ।

आफ्नो समुदायका निम्ती रेडियो मार्फत केही नयाँ गर्ने योजना छ । चेपाङ समुदायलाई पिछडीएकोवर्गको रुपमा मात्रै हेर्ने गरेका कारणले यो समुदाय अगाडी बढ्न नसकेको सुमीको बुझाई छ । अवसर पाए चेपाङहरुले पनि अन्य समुदाय जस्तै सबै क्षेत्रमा अगाडी बढ्न सक्नेछन भन्ने उदाहरण दिन आफु पत्रकारिता क्षेत्रमा चासो दिएको उनले बताईन । काठमाण्डौंमा प्लसटू सकेकी सुमीलाई चितवनबाट पत्रकारिता विषयमानै ब्याचलर पढ्ने इच्छा छ । पत्रकारिता पढ्ने विषयमा कलेज बुझ्दैछु उनले भनिन ।

 

सुमी प्रजा जस्तै कृष्मा चेपाङ अर्थात शिवकुमारी चेपाङपनि पत्रकार बन्ने लाईनमा छिन् । कालिका नगरपालिकाको वडा नं. ९, शक्तिखोर स्थित चेपाङको आफ्नै रेडियोमा विगत दुईवर्षदेखि स्टेशन म्यानेजरको रुपमा काम गर्दै आएकी छिन् । रेडियोको व्यवस्थापकीय पाटोसँगै कृष्माले चेपाङ भाषामा दैनिक समाचार बाचनगर्दै आएकी छिन् । प्रत्येक दिन अपरान्ह ५ बजेदेखि चेपाङ भाषामा समाचार बाचन गर्छिन् । स्थानीय स्तरमा भएका कार्यक्रमहरुलाई समेटेर दैनिक २० मिनेटको समाचार तयारपार्ने देखि समाचार बाचनगर्ने जिम्मा यिनलाई छ ।

उसो त यिनले प्राविधिक विषयमा समेत राम्रो ज्ञान हासिल गरेकी छिन् । राक्सिङ गाउँपालिका वडा नं. ६, मकवानपुर घरभएकी कृष्मा यही रेडियोबाट संचार क्षेत्रमा पाइला सारेकी हुन । शक्तिखोर स्थित फुपुको घरमा आश्रय लिइ चर्तुमुखी माध्यमिक विद्यालयवाट प्लसटु पास गरेकी कृष्मा अहिले रेडिको स्टेशन समालेर बसेकी छन् । प्लसटु दिएर मकवानपुर स्थित गाउँमा बस्दंै आएकी कृष्मालाई उनकै फुपाजुले रेडियो सम्म ल्याएका हुन । रेडियोमा तालिम खुल्ने सूचना पाएपछि कृष्मा शक्तिखोर पुगिन । रेडियोमा कामगर्न जान लागेको खबर पाएका आफन्तहरुले सुरुमा गिज्जाए । रेडियोका संयोजक विजय मानन्धरले रेडियोमा कार्यक्रम संचालनदेखि प्राविधिक विषयमा पाँच दिन सम्म तालिम दिए ।

तालिमवाट कृष्मालाई थप हौसला मिल्यो । कामगर्न सक्दिन भन्ने उनको मनको डर तालिमले हटायो । रेडियोमा पहिलो पटक मदन चेपाङसँग कृष्माको प्रशारण भयो । सुरुमा स्कृप्ट लेखेर कार्यक्रम संचालनगर्दै आएकी कृष्मा अहिले विना स्कृष्टपनि सजिलै कार्यक्रम संचालनगर्न सक्ने भएकी छन् । नेपाली भाषामा उल्लेख भएको समाचारलाई चेपाङ भाषामा सजिलै उल्था गरेर लाईभ समाचार पढ्न सक्छिन् । कार्यक्रम रेकर्डगर्ने, रेकर्ड गरिएको अडियो सम्पादनगर्न सक्ने, विज्ञापनहरु बनाउन सक्ने भएकी छन् । पहिला गिल्लागर्ने उनको आफन्त, इष्टमित्रहरु अहिले फोन गरेर तिम्रो कार्यक्रमहरु कस्तो भइरहेको छ भनेर सोध्न थालेका छन्।

इच्छा शक्तिभयो भने जस्तोसुकै कामगर्न पनि सहज हुन्छ भन्ने कुरा कृष्माले बुझ्न थालेकी छन् । माउस चलाउँदा पनि करेन्ट लाग्छ कि झै लागेर डराउने कृष्मा अहिले सिंगो रेडियोका लागि आवश्यक कार्यक्रम उत्पादनगर्न सक्ने भएकी छन् । इच्छा थियो, चाडैं सिके उनले भनिन – अहिले खुशी लाग्छ । केही गर्न सक्दिन भनेर गाउँमा बसेको भए, बाख्रा चराएर बस्थें होला – यता आएर ठिक गरें झै लागेको छ उनले थपिन । रेडियो कार्यक्रमलाई राम्रो बनाउन कन्टेन राम्रो चाहिने रहेछ भन्ने कुरा यिनीहरुले बुझेका छन् ।
रेडियोमा यिनी अहिले तीनजना कर्मचारी छन् । विहान ५ बजेदेखि बेलुकी १० बजे सम्म दैनिक १७ घण्टा रेडियो प्रशारणहुँदै आएको छ।

रेडियोमा चेपाङ भाषा समाचारसँगै चेपाङजातिको चिनारी, कृषि कार्यक्रम नियमित प्रशारणहुँदै आएको छ । चेपाङहरुको कलासँस्कृति, चाडपर्व, उनीहरुको रहनसहनलाई चेपाङजातिको चिनारी कार्यक्रम मार्फत प्रशारण गर्दै आएको छ। यस्तै किसानहरुको खेतवारीमै पुगेर अन्तरवार्ता, वाईंटहरु समेटेर कृषि कार्यक्रम तयार पार्दैआएका छन् । भदौं १ गतेदेखि रेडियोले थप कार्यक्रम उत्पादनगर्ने तयारी गरेको रेडियोका अध्यक्ष मंगल सिंह प्रजाले जानकारी दिए । भदौं १ गते देखि खस भाषामा पनि समाचार प्रशारणगर्ने तयारी छ । यस्तै घरेलु हिंसा देखि मानव बेचविखनलाई लक्षित गरेर चेलीको आवाज कार्यक्रम प्रशारणगर्ने तयारी छ ।

२०७७ सालमा दर्ता भएर आधिकारीक रुपमा संचालनमा आएको एकसय वाट क्षमता भएको रेडियो हो । रेडियो संचालनका लागि मंगलसिंह प्रजाकै नेतृत्वमा ७ जना संचालक समिति बनेको छ । आर्थिक अभावका कारण रेडियो अझै व्यस्थित हुन सकेको छैन । ग्रामिण क्षेत्रमा बसोबासगर्ने चेपाङ समुदायलाई लक्षित गरेर स्थापना भएको रेडियोमा विज्ञापन खासै छैनन् । स्थानीयतह देखि लोकल विज्ञापन समेत रेडियोले पाउन सकेको छैन् ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु