सीमा र विमानस्थल क्षेत्रमा निगरानी बढाउने निर्णय

भारत–पाकिस्तान युद्धको सन्दर्भमा नेपाल सरकारको सुरक्षा सतर्कता: सिंहदरबारमा उच्चस्तरीय बैठक जारी

काठमाडौं, २४ वैशाख | सेतो नेपाल —
भारत र पाकिस्तानबीच चुलिँदै गएको सैन्य तनावले दक्षिण एशियाली क्षेत्रलाई अस्थिर बनाउने खतरा बढिरहेका बेला नेपाल सरकारले देशको सुरक्षा व्यवस्थाका विषयमा उच्चस्तरीय छलफल थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित सुरक्षा परिषद्को आकस्मिक बैठक अहिले पनि जारी छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलका प्रतिनिधिसहित सम्बन्धित उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ।

भारत–पाकिस्तानबीचको युद्धपछिको सम्भावित असरलाई मध्यनजर गर्दै नेपालमा पर्न सक्ने सुरक्षा चुनौतीहरूको मूल्यांकन तथा पूर्वतयारी योजना निर्माण रहेको बताइएको छ। यसअघि, गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले देशभरका सीमा क्षेत्रहरू, अन्तर्राष्ट्रिय विमानस्थलहरू तथा संवेदनशील संरचनाहरूमा सुरक्षा निगरानी बढाउने निर्णय गरिसकेको छ।

नेपाल सरकारले हाललाई न्युट्रल रणनीति लिएको बताइएको छ, तर अत्यावश्यक परेमा थप सुरक्षा कदम चाल्न तयार रहने संकेत पनि दिएको छ।

दक्षिण एशियामा फैलिन सक्ने तनावले नेपाली अर्थतन्त्र, श्रमिक आवागमन र आपूर्ति प्रणालीमा असर पर्न सक्ने आँकलन विज्ञहरूले गरेका छन्। त्यसैले सरकारले अग्रिम योजना तयार गर्ने क्रममा उच्चस्तरीय छलफललाई प्राथमिकता दिएको देखिन्छ।

SetoNepal.com बाट यस विषयमा थप अपडेटहरू आउनेछन्। कृपया हामीसँगै रहनुहोस्। –00–

Share:

सम्बन्धित समाचारहरु