मातृभाषा पत्रकारिताको विकास र चुनौतीबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं , २५ साउन । मातृभाषामा पत्रकारिताको विकास, प्रवर्द्धन, संरक्षण तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल गर्ने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकार, सञ्चारकर्मी, सञ्चारविद् तथा विभिन्न भाषिक समुदायका प्रतिनिधिहरू सहभागी छन्।

सम्मेलनमा मातृभाषाको प्रयोगमार्फत सञ्चारको पहुँच विस्तार, भाषिक पहिचानको संरक्षण तथा स्थानीय समुदायका आवाजलाई सञ्चारको मूलधारमा स्थापित गर्ने विषयमा केन्द्रित भएर छलफल गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रारम्भमा नेवा दवूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सहभागीलाई स्वागत गरेका थिए।

सम्मेलनको उद्घाटन यसपटक परम्परागत र प्रतीकात्मक तीन फरक शैलीमार्फत गरिएको छ।

पहिलो चरणमा कार्यक्रमकी प्रमुख अतिथि तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गरिन्।

त्यसपछि जलवायु परिवर्तन र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले गमलामा पानी हालेर दोस्रो चरणको उद्घाटन गरिएको थियो। आयोजकका अनुसार मातृभाषा, प्रकृति र समुदायबीचको अन्तरसम्बन्धलाई उजागर गर्न यस्तो प्रतीकात्मक कार्यक्रम समावेश गरिएको हो।

त्यसैगरी तेस्रो चरणमा बोन परम्पराअनुसार लामाहरूले मातृभाषामै मन्त्र जाप गरेर सम्मेलन उद्घाटन गरे। यसले भाषा, संस्कृति, धार्मिक अभ्यास र समुदायबीचको सम्बन्धलाई झल्काएको आयोजकको ।

सम्मेलनमा मातृभाषामा पत्रकारिता गर्दा सञ्चारकर्मीहरूले भोगिरहेका चुनौती, अवसर र सम्भावनाबारे व्यापक छलफल हुने जनाइएको छ। मातृभाषामा सञ्चार सामग्री उत्पादनका लागि आवश्यक जनशक्ति, प्रविधि, स्रोतसाधन तथा आर्थिक व्यवस्थापनका विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ।

सहभागीहरूले नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा मातृभाषामार्फत सञ्चारको विकास अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार मातृभाषामा सूचना तथा समाचार प्रवाह गर्दा स्थानीय समुदायका मुद्दा, संस्कृति, पहिचान र सरोकारलाई प्रभावकारी रूपमा उजागर गर्न सकिन्छ।

सम्मेलनमा मातृभाषा पत्रकारिता भाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणको महत्वपूर्ण माध्यम भएको विषयमा पनि जोड दिइएको छ। नयाँ पुस्तामा मातृभाषाको प्रयोग घट्दै गएको अवस्थामा सञ्चारमाध्यमले भाषा जोगाउने प्रभावकारी भूमिका खेल्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

मातृभाषामा सञ्चार सामग्रीको विस्तारले नागरिकलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने अवसर उपलब्ध गराउनुका साथै भाषा र संस्कृतिप्रतिको अपनत्व बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

पछिल्लो समय अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भिडियो सामग्री तथा पोडकास्टजस्ता डिजिटल प्लेटफर्मको विस्तारसँगै मातृभाषा पत्रकारिताका लागि नयाँ अवसर सिर्जना भएको सम्मेलनमा औंल्याइएको छ।

डिजिटल प्रविधिको उपयोगमार्फत मातृभाषामा गुणस्तरीय सामग्री उत्पादन गरी नयाँ पुस्तासम्म पुर्‍याउने, भाषाको संरक्षण र प्रवर्द्धनलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूले अनुभव आदानप्रदान गर्नेछन्।

सम्मेलनले नेपालको भाषिक विविधतालाई राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित गर्दै समावेशी सञ्चार प्रणाली निर्माणमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

मातृभाषामा पत्रकारिता गर्ने सञ्चारकर्मीबीच सहकार्य र अनुभव आदानप्रदान बढाउनुका साथै नीति निर्माण तहमा मातृभाषा पत्रकारिताका विषयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि सम्मेलनमा उठाइनेछ।

तीन फरक सांस्कृतिक तथा प्रतीकात्मक विधिबाट उद्घाटन गरिएको सम्मेलनले मातृभाषा, संस्कृति, वातावरण र पत्रकारिताबीचको अन्तरसम्बन्धलाई उजागर गरेको छ। सम्मेलनबाट मातृभाषा पत्रकारिताको विकास, संरक्षण तथा आगामी कार्यदिशाका लागि महत्वपूर्ण निष्कर्ष र सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ।–00–

 

 

 

Share:

सम्बन्धित समाचारहरु