भारत–पाकिस्तानबीचको तनावमा चीनको टिप्पणी: भारतको कारबाही खेदजनक

काठमाडौं ,  २४ वैशाख। भारत र पाकिस्तानबीच सीमामा भइरहेको सैन्य झडपका सन्दर्भमा चीनले पहिलोपटक प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतले गरेको सैन्य कारबाहीलाई “खेदजनक” भन्दै दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा भनिन्, “हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ। आज बिहानै भारततर्फबाट भएको सैनिक अपरेशन खेदजनक छ।”

उनले दक्षिण एसियाका दुई ठूला मुलुकबीचको बढ्दो तनावले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै दुबै देशलाई शान्त र संयमित रहन सुझाव दिएकी छन्। “हामी दुबै पक्षलाई थप नराम्रो अवस्थातर्फ नजान आग्रह गर्दछौँ,” प्रवक्ता निङले थपिन्।

भारतले पाकिस्तान प्रशासित कश्मीर र पन्जाबमा मिसाइल हमला गरेको केही घन्टापछि चीनको यस्तो प्रतिक्रिया आएको हो। भारतले यो आक्रमण आतङ्ककारी पूर्वाधारलाई लक्षित गरी गरिएको दाबी गरे पनि पाकिस्तानले यो दाबी अस्वीकार गर्दै मुख्य रूपमा नागरिकलाई लक्षित गरिएको आरोप लगाएको छ।

चीनले सैन्य कारबाहीलाई खेदजनक मानेको छ। चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान एक-अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।

ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।–00–

Share:

सम्बन्धित समाचारहरु