काठमाण्डौं, ५ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९र८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।
महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड रूपैयाँ आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड रूपैयाँ उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ ।
विभागका अनुसार आव २०७८र७९ मा महानगरले तीन अर्ब ७२ करोड रूपैयाँमात्रै आन्तरिक आय सङ्कलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० रूपैयाँ हजार राजस्व सङ्कलन गरेको छ। चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोड रूपैयाँ ले बढी भएको जनाइएको छ।
महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख रूपैयाँ जम्मा गरेको छ। राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्ब रूपैयाँले कमी भएको देखिन्छ। गत आव २०७८र७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख रूपैयाँ थियो, जनु एक सय छ प्रतिशत रहेको थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो।
गत आवमा दुई अर्ब ५८ करोड २५ लाख रूपैयाँ राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख रूपैयाँ अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो। तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख रूपैयाँमात्रै उठेको हो।–00–

