चितवनका रमेश नेपाललाई भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’

चितवन, २२ बैशाख । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले रक्तदान क्षेत्रको सेवा र समर्पणका लागि भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ प्राप्त गरेका छन्। उत्तर प्रदेशको गोरखपुरमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोह–२०२५ मा नेपाललाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

समारोहको आयोजना भारतको प्रतिष्ठित संस्था प्रगती फाउण्डेसन द्वारा गरिएको थियो। यस कार्यक्रममा नेपालसहित विभिन्न देशका रक्तदाताहरू, सामाजिक अभियन्ता र मानवसेवामा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

रमेश नेपाल रत्ननगर नगरपालिका वडा नम्बर १५ का स्थायी बासिन्दा हुन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि रक्तदान तथा रगत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। समाजमा रक्तदानको महत्व फैलाउने, आवश्यक रगत खोजीमा सहयोग गर्ने र आपत्कालीन अवस्थामा रक्तदाताहरूको संयोजन गर्ने कार्यमा उनले उल्लेखनीय योगदान दिएका छन्।

नेपालले हालसम्म ४६ पटक स्वेच्छिक रक्तदान गरिसकेका छन्। उनले आफ्ना रक्तदानका अनुभवहरूलाई सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममा प्रस्तुत गर्दै युवाहरुलाई पनि रक्तदानप्रति प्रेरित गर्ने काम गर्दै आएका छन्। सम्मान कार्यक्रममा सहभागिता जनाएर फर्किएका नेपालले भने, “यो सम्मान व्यक्तिगत नभएर सम्पूर्ण रक्तदाताहरू र समाजसेवीहरूको लागि हो। यसले मलाई अझ बढी प्रेरित बनाएको छ।”

उनको योगदानलाई स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सम्मान प्राप्त हुनुले नेपालजस्तो स्वयंसेवी सेवामा संलग्न व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु