वैशाख १९, नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहान विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। पुल भत्किएपछि वैकल्पिक रूपमा निर्माण गरिएको डाइभर्सनसमेत बाढीले बगाएपछि मालवाहक तथा ठूला सवारीसाधनहरू होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन्।
यात्रुवाहक तथा साना सवारीसाधनहरूलाई भने वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता मधु नेपालले जानकारी दिए। उनका अनुसार पूर्ण रूपमा सडक सञ्चालन हुन अझै समय लाग्नेछ।–00–


