श्रमसंसार पोर्टलको शुभारम्भ: प्रधानमन्त्री ओलीद्वारा श्रमिकहरूलाई प्रविधिको माध्यमबाट सेवा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ, १८ वैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसका अवसरमा श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने आवश्यकता औंल्याउँदै ‘श्रमसंसार पोर्टल’ को शुभारम्भ गर्नुभएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखिएका चुनौती नियन्त्रण गर्न, श्रम बजार सूचना प्रणालीलाई प्रभावकारी बनाउन र प्रविधिको प्रयोगद्वारा रोजगारीका सेवा घरदैलोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक रहेको उल्लेख गर्दै उहाँले श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी घटाउने श्रमसंसार प्रणालीले जनतासम्म संघीयताको लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवद्र्धन दशकका रूपमा मनाउने रणनीति बनाइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै नेपालीलाई समावेशी विकास यात्रामा सहभागी हुन आह्वान गर्नुभयो।

श्रमसंसार पोर्टलमार्फत श्रमिकको सीप, योग्यताको अभिलेख, रोजगारी माग र आपूर्तिको विश्लेषण, तथा रोजगार सेवाको सहज पहुँच सुनिश्चित हुने सरकारको अपेक्षा छ। –00–

 

Share:

सम्बन्धित समाचारहरु