कपिलवस्तुमा स्रोत नखुलेको ४२ लाखसहित भारतीय नागरिक पक्राउ

कपिलवस्तु, १५ वैशाख। स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले भारतको बलरामपुर जिल्ला, तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा उर्फ आशीष कुमारलाई चन्द्रौटास्थित ग्यालेक्सी टोलको एक भाडाको कोठाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार, आशीष कुमारको साथबाट ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका कुमारको साथबाट नोट गन्ने मेसिन समेत बरामद गरिएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार उनी गैरकानुनी हुण्डी कारोबारमा संलग्न भएको हुन सक्ने आशंका गरिएको छ।

पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता विश्वकर्माले जानकारी दिए।–00–

Share:

सम्बन्धित समाचारहरु