चितवन, ११ वैशाख । भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको जिम्मा लिएको हो।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत सुरु गरिएको परियोजना निर्माणमा प्रगति हुन नसकेपछि महानगरपालिकाले परियोजनाको जिम्मेवारी लिएर काम अघि बढाएको थियो। हाल हिमालयन कालिञ्चोक बिबिआर जेभी ले बोलपत्रमार्फत निर्माण कार्य अघि बढाइरहेको छ।
महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार चारवटा प्याराफिटमध्ये एकको ढलान सम्पन्न भइसकेको छ भने अर्को ढलानको तयारी भइरहेको छ। दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी पनि भइरहेको उनले जानकारी दिए।
“हाल दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म लगातार काम गरिरहेका छन्,” आचार्यले भने, “छड र सिमेन्टको आपूर्तिमा केही कठिनाइ भए पनि आवश्यक सामग्री जुटाएर कामलाई निरन्तरता दिइएको छ।” गत असार २३ गते निर्माणको ठेक्का सम्झौता भई साउनदेखि काम सुरु गरिएको हो। २०७८ पुस २२ गते भित्र रंगशालाको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माणको ठेक्का दिइएको थियो।
संघीय सरकारले रु २५ करोड र प्रदेश सरकारले रु १० करोड अनुदान उपलब्ध गराइसकेका छन्। सहमति अनुसार लागतको ७० प्रतिशत प्रदेश सरकारले र ३० प्रतिशत संघीय सरकारले व्यहोर्नेछ।
रंगशालाको निर्माण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भइरहेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। “निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न हामी प्रतिबद्ध छौं,” उनले भनिन्, “महानगरबाट गर्नुपर्ने सबै सहजीकरण भइरहेको छ।”
त्रिभुवन विश्वविद्यालय को नाममा रहेको, हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय ले प्रयोग गरिरहेको २० विघा १९ कठ्ठा जग्गामा रंगशाला निर्माण भइरहेको हो। गर्मी मौसमको कारण साँझ र रात्रीकालीन खेलका लागि बत्तीको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरिसकेको छ।
रंगशालाको पहिलो चरणको निर्माण कार्य पूरा भएसँगै यहाँ अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न सकिने अपेक्षा गरिएको छ।–00–
फाइल तस्विर


