कारी महतो-
चितवन, १ माघ । खिचरा महोत्सवको दशौं संस्करण पुस २९ गतेदेखि शुरु भएको छ । राप्ती नगरपालिका वडा नं. २ का सोनी अर्जेल थारु जातिका मौलिक भेषभुषा र गरगहनामा चिटिक्क परेर खिचरा महोत्सव घुम्न आएकी देखिइन् । उनी थारु पहिरन र गरगहना भाडामा लिएकी बताइन् । निकै आकर्षक देखिने भएकोले एकदमै रहर लागेर लगाएर आएकी उनी बताउँछिन् । “म थारु समुदायको होइन, रहर लागेर भाडामा लिएर लगाएकी हुँ ।” उनले भनिन् “नेपालका सबै जातजातिको पहिरन नेपाली पहिरन हो । हामी सम्पूर्ण नेपालीहरुले एकअर्काको संस्कृति, भेषभुषा, रितिरिवाज र खानपानको सम्मान गर्नुपर्छ । त्यसो गर्नसके मात्र आपसी मेलमिलाप र सहअस्तित्वको विकास हुन्छ ।”

महोत्सव अवलोकन गर्न सोहि नगरपालिका वडा नं. ६ बाट अञ्जु चौधरी पनि थारु भेषभुषा र गरगहनामा सजिएर आएकी थिइन् । उनीसँग सोहि ठाउँका साथीहरु सीता चौधरी, निर्मला चौधरी र कञ्चन चौधरी पनि आएका थिए । हरेक वर्ष क्याजुअल पहिरनमा आउने गरेकोमा विगत पाँच∕छ वर्षदेखि उनीहरु मौलिक भेषभुषा र गरगहना लगाएर आउने गरेको बताउँछन् । त्यसअघि आफूसँग थारु भेषभुषा र गरगहना नभएर क्याजुअल पहिरनमै आउने गरेको अञ्जु बताउँछिन् । खिचरा महोत्सवले गर्दा लोप भैसकेको साँस्कृतिक भेषभुषा र गरगहना संकलन गरेर राखेको र अहिले विशेष अवसरमा थारु पहिरन लगाउने गरेको उनी बताउँछिन् । उनी भन्छिन् “पहिला थिएन् अहिले आफैंले किनेर राखेकी छु ।”
उनीहरु थारु पहिरन लगाउने प्रतिनिधि पात्रहरु हुन् । महोत्सवको शोभा यात्रामा हजारौं महिला पुरुषहरुको उपस्थिति थियो । त्यतिमात्र होइन, केहि आमाबुबाले आफ्ना साना छोराछोरीहरुलाई समेत मौलिक पहिरन लगाएर ल्याएका थिए । उनीहरुका अनुसार मौलिक पहिरन लगाउँदा छोराछोरी पनि खुशी हुने साथै लोपोन्मुख कलासँस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा मात्र यसको जगेर्ना हुन्छ । त्यसैले आफ्नो छोराछोरीहरुलाई मौलिक भेषभुषाप्रति जागरुक बनाउनुपर्छ ।

भोजिया चौधरीले महोत्सवमा थारु समुदायले खिचरा पर्वमा खाने गरेको चिचर र चिचरको प्वाका बेच्दै आएकी छिन् । उनी खैरहनी नगरपालिका वडा नं. ५ को एक महिला समूहकी अध्यक्ष हुन् । उनीहरुले सामूहिक रुपमा थारु खानाका परिकार बेच्ने स्टल लिई व्यापार गर्दै आएकी बताइन् । आठ दिनमा उनीहरुले पाँच लाख भन्दा बढीको कारोबार गर्ने गरेको र खर्च कटाई करीब दुईलाख पचास हजार मुनाफा लिने गरेको बताइन् । महोत्सवको नाफा उनीहरुले समूहमा बचत गर्ने गरेको बताइन् । विभिन्न महिला समूह र व्यक्ति विशेषले महोत्सव परिसरमा आधा दर्जनभन्दा बढी स्टल राखी थारु खानाका परिकारको व्यापार गरेका छन् ।
आजभन्दा बीस वर्ष अगाडि थारु समुदायले आफ्ना मौलिक पहिरन र गरगहनाप्रति चासो दिन छाडिसकेका थिए । अहिले विभिन्न अवसरहरुमा थारु पहिरन देख्न पाइन्छ । केहि वर्ष अगाडि खैरहनी नगरपालिकाले हरेक थारु गाउँका महिला समूहहरुलाई थारु पहिरन खरिद गर्न अनुदान समेत दिएको थियो ।

अहिले चितवनको खैरहनीमा खिचरा महोत्सव लगायत जिल्लाका विभिन्न स्थानहरुमा खिचरा विशेष कार्यक्रम हुने गरेको छ । “हाम्रो अमूल्य संस्कृति लोप हुने खतरामा थियो । त्यसलाई जगेर्ना गर्नका लागि हामीले खिचरा महोत्सवको शुरुवात गरेका हौं” खिचरा महोत्सवका संस्थापक संयोजक नारायण प्रसाद महतोले बताए । उनले भने “जुन उद्देश्यले हामीले खिचरा महोत्सव शुरु गरेका थियौं । हामी सफल भएका छौं ।”
चितवनमा आउने पर्यटकहरुलाई आकर्षण गर्नका लागि थारु कला, सँस्कृति महत्वपूर्ण योगदान रहेको छ किनकी पर्यटकहरु विभिन्न जंगली जनावरका साथै यहाँका मूलवासी थारु समुदायको संस्कार संस्कृतिसँग पनि रमाउन आउने गर्दछन् । यो अनन्तकालसम्म संरक्षित हुनु जरुरी रहेको थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति तथा महोत्सव मूल समितिका संयोजक रामेश्वर चौधरीले बताए ।
महोत्सव यसवर्ष पुस २९ गतेदेखि माघ ७ गतेसम्म खैरहनी नगरपािलका वडा नं. ५ गौचरनमा आयोजना गरिएको छ ।

–00–

