चैत २७ एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका छन् ।
गएराति भएको मतदानमा उनले विश्वासको मत पाउन नसकेका हुन् । विपक्षी दलहरुले निर्वतमान प्रधानमन्त्री खानबिरुद्ध केहीदिन अघि अविश्वासको प्रस्ताव ल्याएका थिए । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् ।
उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो। त्यससँगै अविश्वास प्रस्तावमाथिको छलफलको बाटो पुनः खुलेको थियो । संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।
संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलिनै संसदको अर्को बैठक बस्ने र नयाँ प्रधानमन्त्रीका लागि मतदान हुने जनाइएको छ ।
अबको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफको सम्भावना बलियो भएको चर्चा भइरहेको छ । विभिन्न कारणहरु देखाउदै पाकिस्तानी जनताहरुले खानको पछिल्लो नेतृत्व दक्षतामाथि आलोचना गर्दै आएका थिए ।