भक्तपुर दुर्घटना – स्थिति तनावग्रस्त बनेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं, ३१ साउन। ट्राफिक चेकिङका क्रममा ट्रकले ठक्कर दिएर स्कुटर चालक महिलाको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।

गठ्ठाघर चोकमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको  स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ । सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

 

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । दुर्घटनापछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंका टोली र सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरिएको थियो ।

करिब दुई हजारको हाराहारीमा जम्मा भएको भीडले गठ्ठाघर चोकको ट्राफिक आइल्याण्ड समेत तोडफोड गरेको थियो । बिहीबार साँझ अबेर मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले बताए ।

 

प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए ।

घटनाबारे प्रहरी के भन्छन ?

प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले ट्राफिक प्रहरीले दुर्घटना भएको स्कुटर र ट्रक कुनैलाई पनि नरोकेको बताए । उनका अनुसार गट्ठाघरमा ‘स्पिड गन’मार्फत सवारीको गति अनुगमन भने गरिएको थियो ।

‘स्पिड गनमार्फत गति हेरिएको थियो । तर त्यहाँ स्कुटर र ट्रकलाई रोकेर ट्राफिक जाँच गरेको होइन । गनमार्फत स्पिड गति हेरिरहेका बेला दुर्घटना भएको देखेपछि ट्राफिक दौडिएर घटनास्थल गएको देखिन्छ’ एसएसपी श्रेष्ठले भने । घटनापछि भक्तपुरको ट्राफिक प्रहरीसँग जानकारी लिँदा स्कुटर नरोकेको जवाफ आएको श्रेष्ठको भनाइ छ । प्रदर्शनकारीले ट्राफिक चेकजाँचका क्रममा दुर्घटना भएको भनेकाले त्यस विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा गाडीको गति जाँच गरिरहेको थाहा पाएपछि ट्रकले एक्कासी गति घटाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

भक्तपुरका एसपी विष्टले पनि दुर्घटनामा परेका स्कुटर तथा ट्रक दुबै बिहीबार चेकजाँचमा नपरेको बताए । ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे सीसीटीभी फुटेज हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ एसपी विष्टले बताए ।—000–

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु