चितवनको राप्तीमा शिक्षक सरुवामा मनपरीः फिर्ता लिन अनेरास्ववियुको माग

चितवन, १८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले राप्ती नगरपालिकामा भएको शिक्षक सरुवा फिर्ता लिन माग गरेको छ ।

शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा मनोमानी ढङ्गबाट शिक्षक सरुवा गरिएपछि फिर्ता लिन माग गरिएको अनेरास्ववियुले जनाएको छ । राप्ती नगरपालिकाले असार ३० गतेको निर्णय अनुसार राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरुवा गरेको छ ।

शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा प्रचलित कानुनको शिक्षा नियमावली, शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र राप्ती नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २० उपदफा ४ को नियम विपरित शिक्षकहरुलाई हतोत्साहीत हुने गरी साथै विद्यार्थीहरुको पठनपाठनमा समेत प्रभाव पार्ने गरी नियम विपरित शिक्षक सरुवा गरिएको भन्दै त्यो सरुवा अविलम्व फिर्ता लिई समस्याको समाधान गर्न अनेरास्ववियुले माग गरेको छ ।

माग पूरा नभए अनेरास्ववियु चरणवद्ध आन्दोलनमा उत्रने र यसबाटे सिर्जना हुने परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । उक्त विज्ञप्ति प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी र शिक्षा शाखा प्रमुख रगुना देउजालाई अनेरास्ववियुले बुझाएको छ । अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य र अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्ष उमाकान्त कँडेल लगायतको टोली नगरपालिका पुगेर ध्यानाकर्षण गराउँदै विज्ञप्ति बुझाएको हो ।

विज्ञप्ति बुझाउँदै अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले राप्ती नगरपालिकामा राजस्व तिर्न नपाउँदा जनताले पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको भन्दै यो समस्या समाधान गर्न पनि माग गरेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु