काठमाडौं, ९ साउन । अध्ययनका लागि विदेशीने नेपालीहरुको संख्या बढ्दो क्रममै छ । आर्थिकवर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५ सय ९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८० साउन १ गतेदेखि ०८१ असार ३१ सम्म सो संख्यामा एनओसी जारी भएको उल्लेख छ ।
यस अवधिमा ९४ वटा विषय पढ्न नेपाली विद्यार्थी ६६ वटा देश गएका छन् । तीमध्ये सबैभन्दा धेरै ३४ हजार ७३१ जनाले जापानका निम्ति एनओसी लिएका छन् ।
विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा छ । क्यानडा जान सो अवधिमा १५ हजार ९८२ विद्यार्थीले एनओसी लिएका छन् । तेस्रोमा अष्ट्रेलिया छ । सो देशका निम्ति १४ हजार ३७२ वटा एनओसी जारी भएको छ ।
यस्तै, युकेका निम्ति १३ हजार ३३९, यूएसएका निम्ति ११ हजार २६१, कोरियाका निम्ति ६ हजार ८८९, भारतका निम्ति दुई हजार ३८९ र यूएईका निम्ति दुई हजार १४७ एनओसी जारी भएका छन् । यीबाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या दुई हजारभन्दा कम छ ।–00–


