कालिका, ३२ जेठ । विकासशिल टोलमा कालिका नगरपालिका वडा नं. ५ को सहयोगमा नाला सफाईको काम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा समुदायबासीहरुले वडा, लुमन्तीको सहकार्यमा जनश्रम लगाएर गर्नुपर्ने सरसफाईको काम सम्पन्न गरेका थिए । त्यस बाहेक एक्स्काभेटर मेसिन नै लगाएर काम गर्न बाँकी रहेको नाला निकासा खोल्ने कामको लागि वडा कार्यालयको सहयोग सो काम गरिएको थियो । उक्त कार्य गर्नका लागि वढा सदस्य जलेश्वर महतोले सहजिकरण गर्नुभएको थियो । वर्षातको समयमा सोही समुदाय हुँदै पानी निकासा हुने तर निकासाको ठाउंमा माटो र ढुंगा जमेर समुदाय डुबान हुने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले सो सहयोग गरेको थियो ।
सोही दिन सामुदायिक सचेतना केन्द्रमा अध्ययनरत बालबालिकाहरुको सहभागितामा वातावरण संरक्षणसम्बन्धि चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । विकासशिल समुहका अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कालिका नगरपालिका वडा नं. ५ का सदस्य जलेश्वर महतो, लुमन्तीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सामुदायिक सचेतना केन्द्रका सहजकर्ता सरोज परियारले सहजिकरण गरेका थिए भने कार्यक्रम संचालनका लागि लुमन्तीका प्रतिनिधिहरुले सहयोग गरेका थिए । बाल समुहका १० जना बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रमको लागि आवश्यक मसलन्द सामग्रीहरु, खाजाको व्यवस्थापन लुमन्तीबाट गरिएको थियो ।
शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको सो समुदायका बालबालिकाहरुको शैक्षिक स्तर अत्यन्तै नाजुक अवस्थामा रहेको, अभिभावकहरुको शैक्षिक अवस्थाको कारण बालबालिकाहरुप्रतिको दायित्व निर्वाह गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै सामुदायिक सचेतना केन्द्रको मार्फतबाट बालबालिकाहरुको शैक्षिक स्तर उकास्ने, अतिरिक्त कृयाकलापहरुमार्फत बालबालिकाहरुको क्षमता अभिवृद्धी गर्ने, अभिभावकहरुको चेतनात्मक स्तर विकास गर्नको लागि विभिन्न सचेतनामुलक अभियानहरु संचालन गर्ने कार्य संचालन भईरहेको छ । सो कार्यका लागि स्थानिय युवा सरोज परियारले सहजिकरण गरिरहेका छन् भने उक्त कार्यलाई विकासशिल समुहले सहयोग गर्दै आईरहेको छ ।—00–

