गणेशधाम: विद्यार्थीका लागि प्रत्यक्ष सिकाइको प्रमुख गन्तव्य

रेशम सापकोटा – सेतो नेपाल –
चितवन ६ भाद्र – चितवनको भरतपुर महानगरपालिका–११ गणेशस्थानस्थित गणेशधाम पछिल्लो समय विद्यालयका विद्यार्थीहरूको शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गएको छ। स्थानीय सरकारको शिक्षा नीतिअनुसार पाठ्यक्रमलाई व्यवहारिक बनाउने उद्देश्यले विद्यालयहरूले सञ्चालन गरेका अवलोकन भ्रमण कार्यक्रमहरूमा गणेशधामको रोजाइ बढ्दो छ।

गणेशधाम संरक्षण सम्बर्धन समितिको सहकार्यमा विद्यार्थीहरूले ऐतिहासिक इनार, पुराना चौतारा, प्राचीन मठ–मन्दिर, फूलबारीलगायतका स्थलहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाइरहेका छन्। कक्षाकोठामा मात्र सुनेका विषयलाई आफ्नै आँखाले देख्ने र बुझ्ने अवसर मिल्दा उनीहरूमा नयाँ उत्साह जागेको देखिन्छ। भ्रमणमा सहभागी विद्यार्थीहरूले सांस्कृतिक र धार्मिक महत्वका साथै पुरातात्विक सन्दर्भबारे विस्तृत जानकारी प्राप्त गर्न सकेका छन्।

धाम परिसरमा पुग्नेबित्तिकै विद्यार्थी र शिक्षकहरूले पूजा–अर्चना गरी टिका र प्रसाद ग्रहण गर्ने गर्छन्। यस क्रममा सामूहिक तस्बिर खिच्ने परम्पराले उनीहरूमा धार्मिक स्थलप्रतिको आत्मीयता अझ बढाएको छ।

यसरी अवलोकनमार्फत प्राप्त ज्ञानले विद्यार्थीहरूमा स्थानीय इतिहास, संस्कृति र धार्मिक चेतनाप्रति जिज्ञासा थपिएको छ। शिक्षकहरूले पनि दैनिक कक्षामा गणेशधामसम्बन्धी इतिहास, पुरातात्विक तथ्य र धार्मिक मान्यताहरूलाई शिक्षणसँग जोड्दै आएका छन्। यसले विद्यार्थीहरूलाई पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदाको महत्व बुझ्न सहज बनाएको छ।

गणेशधाम केवल एक धार्मिक स्थल मात्र नभई चितवन र आसपासका जिल्लाका विद्यालयहरूका लागि शैक्षिक प्रयोगशाला बन्दै गएको छ। यहाँको वातावरणले विद्यार्थीहरूलाई स्थानीय इतिहास र संस्कृतिसँग नजिक्याउने मात्र होइन, आस्था र व्यवहारिक सिकाइलाई एकैसाथ अनुभव गर्ने अवसर पनि दिएको छ।

–00–

Share:

सम्बन्धित समाचारहरु