रत्ननगर, ३२ जेठ । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएको छ ।
उपमेयर यादव प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य वडा सदस्यहरु सहभागी थिए । कार्यक्रममा दलित समुदायका कार्यपालिका सदस्य र वडा सदस्यहरुको सशक्तिकरण कार्यक्रम अन्तर्गत भाषणकला तालिम, दलित समुदायको आयआर्जनको लागि सीपमुलक कार्यक्रम गर्ने, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने, पशुपालनमा सहयोग गर्ने निर्णय भएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् ।
कार्यपालिका सदस्य राजेन्द्र हमालले दलित समुदायबाट कार्यपालिका सदस्य बनेको र वडा सदस्यहरुले निर्धक्क भएर सामाजिक मुद्धाहरु उठाउन सक्ने गरि उनीहरुको नेतृत्व विकास आवश्यक रहेको बताए । उपमेयर यादवप्रसाद पाठकले प्रतिफल प्राप्त गर्ने गरि कार्यक्रम सञ्चालन गरिने भन्दै लक्षित समुदायले मात्र हिस्सेदार बन्ने बताए । दलित सशक्तिकरण कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले कार्यविधि बनाएर स्थानीय सरकारलाई बजेट पठाएको छ । सो कार्यक्रम सञ्चालनको लागि रत्ननगर नगरपालिका पनि छनौटमा परेको छ ।
उक्त कार्यक्रम पाँच बर्ष सम्म सञ्चालन हुने महिला विकास अधिकृत घिमिरेले जानकारी दिइन् ।


