भरतपुरमा २२० केभीको नयाँ सबस्टेशन तयार

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उनले जानकारी दिए ।

‘सबस्टेशन तयार भयो, अर्को महिना चार्ज गर्ने योजनामा छौं, रेग्मीले भने, ‘विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।’ सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।

सबस्टेसनमा १६०÷१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना १४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ ।

नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन रहेकाले अहिले नयाँ बनेको सबस्टेशनलाई नयाँ भरतपुर सबस्टेशन भनिएको हो ।

 

नयाँ भरतपुर र लमजुङको उदिपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लार्चेन एण्ड टर्बो ९ एल एण्ड टी० सँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । झण्डै ३ अर्बको लागतमा भरतपुर उदिपुरमा सबस्टेशनको जिम्मा पाएको कम्पनीको म्याद आगामी जुन ३० सम्म छ । भरतपुरको नयाँ सबस्टेशन तयार भए पनि उदिपुरको तयार हुन अझै ४ महिना जति लाग्ने आयोजना प्रमुख रेग्मीले बताए । -अनलाईन खबर ।

Share:

सम्बन्धित समाचारहरु