काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएपनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताउनुभयो । हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उहाँले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताउनुभयो ।
मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर बन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताउनुभयो ।
‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो । नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
‘केही समय पहिले १० हजार मेगावाटको एग्रिमेन्ट भारतसँग भर्खरै भएको छ । लगानी गर्ने संस्था, व्यक्ति, युवाहरूमा नैराश्यता छाएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘हाम्रो देशमा पनि धेरै सम्भावना रहेको छ । त्यस कारणले हामी पनि ऊर्जा बेचेर धनी किन नहुने ? ’
लगानीलाई प्रोत्साहन गर्नका लागि सरकारले लगानी सम्मेलनको आयोजना गरिएको भन्दै उहाँले सरल तरिकाले लगानी भित्राउनका लागि विधेयक पनि आइसकेकाले केही सहज हुने उहाँले बताउनुभयो । ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाई थियो । महिला नेतृत्वका सन्दर्भमा बिस्तारै बढ्दै गएको भन्दै उहाँले भन्नुभयो, ‘लामो समय का लागि लगानी गर्ने ठुलो भएको भएकाले यसमा अलि गाह्रो पनि छ । सँगसँगै लगानी र बिजनेस मात्र नभएर त्यस क्षेत्रका स्थानीयको गरिबी न्यूनीकरण, सामाजिक विकासका लागि पनि तपाईंहरूले योगदान दिन आवश्यक छ ।’
महिलाको छवि केही न केही रूपमा अलि बढी इमानदार छन् भन्ने खालको छाप पनि रहेको दाबी गर्दै उहाँले ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता भित्र्याउनका लागि राज्यका तर्फबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गर्नुभयो ।



–00–


