चितवन, ११ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको दावी गरेका छन् । आज चितवनको भरतपुरमा पार्टी नेता–कार्यकर्तासँग फागु पूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको जिकिर गरेका हुन् ।
‘विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ’ उनले भने । गृहमन्त्री लामिछानेले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरू एक ठाउँमा उभिएको उल्लेख गरे । ‘अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो’, उनले भने ।
उनले देशमा धेरै धुलो रहेको पनि बताएका छन् । ‘धुलो र फोहोर धेरै छ । धेरै छिटो हिँड्नु भएको छैन लडिन्छ’, उनले भने, ‘माछा दुई किसिमका छन्, किसानका माछा र ठूलामा माछा हामीले दुवैको टेक केयर गर्नेछौँ । माछा मिठो तर खाँदा काँडा अड्किने पनि हुन्छ । त्यसैले हामीले होस गरेर यी दुवै माछाबारे काम गर्नुछ ।’ लामिछानेले जनतालाई सुशासन दिनुपर्ने बताए । ‘कानुन पल्टाउनुस् गृहमन्त्रीको आदेश चाहिँदैन । तस्कर गुन्डा र अपराधीलाई समात्न गृहमन्त्रीको आदेश चाहिँदैन’, उनले प्रहरी अधिकारीहरूलाई भने, ‘कानुनले जे भन्छ त्यही हुन्छ । बर्दी लगाएर बसेका प्रहरी अधिकारीलाई अधिकार दिएको छु ।’
–00–


