नारायणगढ, ११ चैत । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव–२०८०’ मा आज चर्चित गायकरगायिकाहरू श्याम रानामगर, साहिमा श्रेष्ठ, दीपक खड्का र भोजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिनेछन्।
नारायणी नदी किनारमा जारी महोत्सवमा राष्ट्रिय कलाकारका आलवा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको प्रत्यक्ष दोहोरीमार्फत पनि भरपुर मनोरञ्जन प्रदान गरिने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए।
महोत्सवमा आदिवासी जनजाति समुदायको साँस्कृतिक नृत्यले समेत प्राथमिकताका साथ मनोरञ्जन दिलाउँदै आएको छ। जिल्लामा संगठित १७ जातिले आ–आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। यो क्रम महोत्सव अवधिभर जारी रहने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए।
महोत्सवभित्र आदिवासी जनजातिका गाउँ घुमेर आदिवासी जनजाति समुदायमा प्रचलित खानाका परिकार खान पाइने व्यवस्था मिलाइएको छ। यही चैत ९ गते शुक्रबारबाट सुरू भएको महोत्सव १८ गतेसम्म चल्नेछ।
में त्हँले प्रतियोगिता
तमू प्ये ल्हु संघ चितवनले महोत्सव परिसरभित्रै में त्हँले ९धनुष वाँण विद्या० प्रतियोगिता गर्दैछ। गुरूङ समुदायको मौलिक संस्कृतिभित्र पर्ने भए पनि यो कार्यक्रम लोप हुने अवस्थामा आइपुगेको हुँदा यसलाई जीवित तुल्याउन कार्यक्रम गर्न लागेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए।–00–


