कालिका, ११ असोज । १७ औं विश्व रेविज दिवसको अवसरमा कालिका नगरपालिकाले घरपालुवा कुकुर, विरालोहरुलाई निशुल्क रेविज विरुद्धको खोप लगाउने अभियान आजदेखि सुरु गरेको छ । नगरपालिकाको पशुसेवा शाखाले अभियानकै रुपमा रेविज रोग विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको हो । वडा नं. ६ स्थ्ति पशुसेवा शाखा कार्यालयकै परिसरवाट यो अभियान सुरु गरिएको हो । अभियानको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले रेविजलाई विश्ववाटै उन्मुलनगर्ने योजना अनुसार नेपाल सरकारले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रमगरी मनाउँदै आएको बताउनुभयो । नेपाल सरकारले लिएको लक्ष्य अनुसार कालिका नगरपालिकाले पनि नगरलाई रेविजमुक्त नगर बनाउने अभियान विगत केहीवर्षदेखि गर्दै आएको जानकारी दिनुभयो । घरघरमै पुगेर कुकुर, विरालो लगायतका घरपालुवा जनावरलाई खोप लगाउन प्राविधिकहरुलाई निर्देशन दिनुभयो । कुनैपनि पशु छुट्नुहुँदैन उहाँले भन्नुभयो – रेविज रोगलागेर कसैलेपनि अकालमा ज्यान गुमाउन नपरोस ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले यो अभियान सफल बनाउन सम्पूणटोलबासीले सहयोगगर्नुपर्ने बताउनुभयो । राष्ट्रिय रुपमै रेविजयलाई शुन्यमा झार्ने सरकारको योजना भए अनुसार कालिका नगरपालिकाले अभियानकै रुपमा विश्व रेविज दिवस मनाउन लागेको जानकारी दिनुभयो । सम्पूर्ण घरपालुवा प्राणीलाई खोप लगाएर अभियानको सदुपयोगगर्न वडाबासीलाई उहाँले आग्रहगर्नुभयो ।
‘एकको लागि सबै, सबैका लागि एक स्वास्थ्य’ नारा सहित असोज ११ गतेदेखि १५ गते सम्म १७ औं विश्व रेबिज दिवस मनाउन लागिएको पशुसेवा शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ११ गते (आज) कालिका नगरपालिकाको वडा नं. ६, ८, र १० मा यो निशुल्क खोप लगाउने काम सम्पन्न भएको छ ।
विहान १० बजेदेखि दिउँसो ३ बजे सम्म वडा भित्रका कुकुर र विरालोलाई खोप निशुल्क रेविज विरुद्धको खोप लगाइएको हो । यस्तै १२ गते वडा नं. १, ४ र ५ मा निशुल्क खोप लगाइने छ । यस्तै १२ गतेनै कालिका वडा नं. ९ र ११ मा खोप लगाउने कार्यक्रम छ । यस्तै १४ गते वडा न.ं २ र ३ मा विहान ८ बजेदेखि ३ बजे सम्म खोप लगाउने तयारी छ । यस्तै अभियानको अन्तिम दिन वडा नं. ७ मा विहान ८ वजेदेखि १२ बजे सम्म निशुल्क खोप लगाइनेछ र सोही दिन अभियान समापन गरिने पशु सेवा शाखा प्रमुख पौडेलले बताउनुभयो ।















—00–


