भ्याक्सिनले ठूलो राहत पाएका छौंः दुग्ध उत्पादक सहकारी संस्था

लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाएपछिको अवस्थाबारे सरोकारवालाहरुको प्रतिकृया बुझ्दै कालिका नगरपालिका

कालिका, ११ भदौं ।  गाई,भैंसीमा लाग्ने लम्पी स्किनरोग नियन्त्रणका लागि नगरपालिकाले बेलैमा भ्याक्सिन उपलब्ध गराएकाले ठूलो क्षतिहुनवाट जोगिएको कालिका नगरपालिका क्षेत्रका दुग्ध उत्पादक सहकारी संस्थाका अगुवाहरूले बताएका छन् ।

भ्याक्सिन लगाएपछि कृषकहरूवाट आएको प्रतिक्रिया र कृषकका लागि नगरपालिकाले थप गर्नुपर्ने सहयोगको विषयमा जानकारी लिन नगरक्षेत्र भित्रका दुग्ध उत्पादक सहकारी संस्थामा पुगेको टोलीलाई यस्तो बताएका हुन । नगर उपप्रमुख विमला तमाङको नेतृत्वमा नगरपालिकाको टोली आजदेखि प्रतिक्रिया बुझ्न दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरूसंग भेटघाट अभियान सुरु गरेको छ । लम्पी स्किन रोग विरूद्वको भ्याक्सिन लगाउने नगरपालिकाको अभियानमा नगरक्षेत्र भित्रका दुग्ध उत्पादक सहकारी संस्थाहरूले साथ दिएका थिए ।

भ्याक्सिन लगाउँदा त्यसले केही साइड ईफेक्ट देखियो कि १ दुग्ध उत्पादनमा कमि आयो कि १ किसानहरूले कस्तो प्रतिक्रिया दिईरहेका छन रु अब नगरपालिकाले किसानहरूका लागि के के गर्न आवश्यक छ भन्ने विषयमा जानकारी लिन यो शुरू गरिएको कालिका नगरपालिकाको उपप्रमुख विमला तमाङले जानकारी दिनुभयो ।

आज पहिलो दिन चारवटा दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीहरूसंग छलफल गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले निशुल्क रूपमा लगाएको भ्याक्सिनले नगरक्षेत्र भित्रका किसानहरू खुशी छन् । महामारी नियन्त्रणका लागि नगरपालिकाले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीहरूले बताए ।

सहकारीका अध्यक्ष लोकराज चालिसेले पदमपुर क्षेत्रका किसानहरु निशुल्क भ्याक्सिन लगाउने अभियानले ठूलो राहत पाएको बताउनुभयो । संस्थाको नेतृत्वमा २ हजारबढी पशुहरुलाई निशुल्क भ्याक्सिन लगाएको उहाँले जानकारी दिनुभयो । यो बीचमा कुनैपनि किसानले भ्याक्सिनपछि समस्या देखिएको रिपोर्ट नगरेको बताउनुभयो । सुरुमा भ्याक्सिन लगाउन आनाकानी गरेपनि पछि सबै किसानहरु भ्याक्सिन लगाउने अभियानमा जुटेको उहाँले स्पष्ट पार्नुभयो । अहिले सबै किसानहरुले राहतको महशुस गरेका छन उहाँले भन्नुभयो ।

वडा नं. १ स्थित सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाकी अध्यक्ष कल्पना आचार्यले भयावह अवस्था आउन नदिन नगरपालिकाले उच्च भूमिका खेल्न सफल भएको बताउनुभयो । किसानहरुको मनोबल बढाउन कार्यक्रम गरेकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो । पशुहरुमा संक्रमण देखिन थालेपछि किसानहरुले किनेर भएपनि भ्याक्सिन लगाउन खोजेका थिए । यस्तो अवस्थामा नगरपालिका निशुल्क भ्याक्सिन दिएर किसानहरुको सहयात्री बन्न सफल भएको बताउनुभयो । समग्रमा नगरपालिकाले किसानहरुको अभिभावकत्वको भूमिका खेलेको किसानहरुवाट आफुले प्रतिकृया पाएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि किसानहरुलाई यसैगरी साथ र सहयोग दिँदै जान आग्रह समेत गर्नुभयो ।

यस्तै वडा नंं ६ मै रहेको कञ्चन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद दंगालले किसानको प्रत्यक्ष गोठगोठमा पुगेर नगरपालिकाले आफ्नो जिम्मेवारी पुरा गरेको बताउनुभयो । महामारीको बेला मात्रै नभई अरुबेला पनि किसानहरुको घर गोठमा पुथ्न उहाँले आग्रह गर्नुभयो । भ्याक्सिनले आफ्ना किसानहरुमा कुनै समस्या नदेखिएको उहाँले स्प्ष्टपार्नुभयो ।

पशु शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले भ्याक्सिन लगाउन छुटेका पशुहरूलाई यसैसाता भ्याक्सिन लगाउन प्राविधिकहरू परिचालन हुने जानकारी दिनुभयो । अहिले पनि भ्याक्सिन लगाउने क्रम जारी छ । कालिकाको वडा नं १०,११ मा भ्याक्सिन लगाउन प्राविधिकहरू परिचालित छन । यता सकिए लगत्तै छुटेका पशुहरूमा भ्याक्सिन लगाउन टोली गोठगोठमा पुग्नेछ -पशुशाखा प्रमुख पौडेलले भन्नुभयो ।

आज पहिलो दिन वडा नं.६ स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नं. ६ मै रहेको कञ्चन दुग्ध उत्पादक सहकारी संस्था , वडा १ स्थ्ति सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था र कालिका वडा नं. २ पदमपुर स्थित पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाका पदादाधिकारीहरुसँग छलफल भएको छ । अन्य बाँकी दुग्ध उत्पादक सहकारी सस्थाहरुमा भोली पुग्ने तयारी छ ।

कालिका नगरपालिकाले साउन २५ गतेदेखि लम्पी स्किन रोग विरुद्धको भ्याक्स्नि लगाउन प्राविधिक सहितको टोली घरघरमा पठाउन सुरु गरेको थियो । नगरक्षेत्रभित्रका पशुपालक किसानहरुलाई राहत दिन अभियानकै रुपमा नगरपालिकाले निशुल्क भ्याक्सिन लगाउने अभियान सुरु गरेको थियो । नगरपालिका भित्र झण्डै ६ हजार देखि ८ हजार सम्म पशुहरु रहेको अनुमान छ । भदौं १० गते भित्र सम्म सबै गाई, भैसीलाई भ्याक्सिन लगाइसक्ने नगरपालिकाको लक्ष्य थियो । पशु शाखा प्रमुख पौडेलले किसानको गोठगोठमै पुगेर सेवा दिइरहेकाले निर्धारित समय भन्दा दुईचार दिन बढी समय लागेको हो ।

–00–

 

 

Share:

सम्बन्धित समाचारहरु