सेतो नेपाल-
कालिका, ३ भदौं । कालिका नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन घरघरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसारनै गत आर्थिकवर्षको माघ महिनादेखि नै यो अभियान कालिकामा सुरु भएको हो ।
८० वर्षभन्दामाथी रातो कार्ड प्राप्त गरेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजरगर्दै नगरपालिकाले यो अभियान सुरु गरेको हो । कालिका नगरपालिका भित्र ६ सय ५० जना जेष्ठ नागरिकहरु छन् । यसमा रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समेटिएको छ । नगरक्षेत्रमा रातो कार्ड प्राप्तगर्ने ५२ जना अपाङ्गता भएका व्यक्तिहरु छन् ।
रातो कार्ड प्राप्तगर्ने जेष्ठ नागरिक भन्नाले यातायातको असहजताले विरामी भएपनि स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने अवस्थामा रहेको भन्ने बुझिन्छ । रातो कार्ड पाएकाहरु सामान्यतया हिडडुलगर्न सक्दैनन ् । घर वरिपरिनै बस्नुपर्ने अवस्था भएको भन्ने बुझ्नुपर्दछ ।
यस्तो अवस्थामा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि गत आर्थिक वर्षको माघ महिनादेखि नगरक्षेत्रभित्रका ११ वटै वडाका स्वास्थ्यकर्मी घरघरमै पुगिरहेको कालिका नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीले उनीहरुको जर्नरल स्वास्थ्य अवस्था बारे जानकारी लिन्छन् । ब्लडप्रेसर,सुगरको मात्रा, पिसावमा प्रोटिनको अवस्था बारे परीक्षणगर्दै आएका छन् । परीक्षणको क्रममा केही जटिल समस्या देखिएको अवस्थामा नजिकैको स्वास्थ्य चौकी वा खोलेसिमल स्थित नगर अस्पताल आउन सुझाव दिन्छन् । स्वास्थ्कर्मीले व्यक्तिगत सरसफाई सँगै खानपानको आनिवानी बारे पनि जानकारी लिएर उचित सल्लाह सुझाव दिँदै आएका छन् । विरामी भएर उपचारगर्नुभन्दा विरामीनै हुन दिने गरी समुदायमा खानपान र स्वास्थ्य शिक्षाको कार्यक्रमसँगसँगै अगाडी बढाउँदै गएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
प्रत्येक दुईदुई महिनामा स्वास्थ्यकर्मी जेष्ठनागरिकको घरघरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेका छन् । यो अभियानले जेष्ठ नागरिकहरुले आफ्नो शारीरिक अवस्था बारे जानकारी लिन पाएका छन् । घरमै बसेर उचित सरसल्लाह समेत पाउँदा खुशी छन् ।
नगर प्रमुख रेग्मीले आइतवार वडा नं. ८ अन्तर्गत गैरीबारी क्षेत्रमा अनुगनम समेत गरेको छ । कार्यक्रमको प्रभावकारिता बारे स्थानीयको प्रतिकृया बुझ्न अनुगमन गर्नुभएको हो । अनुगमन पश्चात पत्रकारहरुको संगको प्रतिकृयामा नगर प्रमुख रेग्मीले यो कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभो । जेष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषयलाई समेटेर अगाडी बढेको बताउनुभयो । सानो रोगलाई बेलैमा पहिचान गर्न सकियो भने त्यसले ठूलो रुप लिन पाउँदैन, त्यसैले घरघरमै पुगेर दिर्घरोगीहरुको समेत पहिचानगर्दै उनीहरुले सेवनगर्नै औषधी देखि उनीहरुको खानपान र अवस्था बारेपनि नगरपालिकाले जानकारी लिइरहेने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रमको प्रभावकारी बन्दै गएकाले आर्थिक वर्ष २०७९ – ०८० मा सुरु गरिएको यो कार्यक्रमलाई यो आर्थिक वर्ष २०८० – ०८१ मा पनि निरन्तरता दिएको उहाँको भनाई छ । नगरपालिकाले विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा समेत गर्ने नीति लिएको छ । जतिल रोग भएका विरामीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नगरपालिकाले सेवा सुविधा उपलव्ध गराउँदै आएको नगर प्रमुख रेग्मीको भनाई छ ।
वडा नं. ८ अन्तर्गत गैरीबारी क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्रका हस्तबहादुर चेपाङले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष चित्रवहादुर मगर, नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, सम्बन्धित टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।








–00–


