चितवनको राप्ती नगरपालिकाले पनि बजेट पेस गरेन

बागमतीका २० पालिकाले गरेनन् बजेट पेस

चितवन,२ साउन

बागमती प्रदेशका २० वटा स्थानीय तहले अझै आर्थिक वर्ष २०८०/८१ को बजेट विवरण पेस गरेका छैनन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आयरव्यय (बजेट) सभामा पेस गरिसक्नु पर्छ।

तर बागमतीका २० स्थानीय तहले बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा पेस गरेका छैनन्। मंगलबार बिहानसम्ममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा पेस विवरणअनुसार प्रदेशका ११९ स्थानीय तहमध्ये ९९ स्थानीय तहले भने बजेट पेस गरेका छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका, चितवनको राप्ती नगरपालिकाले पनि बजेट पेस गरेका छैनन्।

रामेछापका तीन स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। जसमा खाँडादेवी, दोरम्भा र लिखु लामाकोशी गाउँपालिका रहेका छन् । यस्तै दोलखाको विगु, सिन्धुपाल्चोकको जुगल र इन्द्रावती गाउँपालिकाले बजेट पेस गरेका छैनन्।

धादिङको खनियाबास, त्रिपुरासुन्दरी, थाक्रे र नेत्रावती डबजोङ गाउँपालिकाले मन्त्रालयको बेवसाइडमा बजेट पेस गरेका छैनन्। काठमाण्डौंको शंखरापुर र ललितपुरका गोदावरी नगरपालिका, कोन्जोसोम र कहाङ्कल गाउँपालिका पनि बजेट पेस गर्न बाँकी छन्।

भक्तपुरको सूर्यविनायकले बजेट पेस गरेको छैन। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र चौंरीदेउराली गाउँपालिकाले पनि हालसम्म बजेट पेस नगरेको पाइएको छ।

Share:

सम्बन्धित समाचारहरु