काठमाण्डौं, १३ असार । सरकारले आज संसद्बाट बजेट पारित गराउने तयारी गरेको छ।
त्यसका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।
त्यसो त सत्ता गठबन्धनमै रहेका कतिपय दल बजेट संशोधन नभए पारित गर्न नदिने अडानमा छन्। तर यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि बजेट पारित गर्ने सहमति भएको स्रोत बताएको छ ।
स्रोतका अनुसार मंगलबार साँझ सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफल बजेट पारित गर्ने सहमति भएको हो।
‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले नेपालखबरसँग भनेको छ, ‘दलहरूले ह्विप नै जारी गरेका छन्।’
कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) ले पनि यस विषयमा आज बिहान संसदीय दलको बैठक बसेर निर्णय गर्ने तयारी गरेको यसका नेताले बताएका छन्।
यसैगरी सरकारबाट आफूहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता आएकाले एकीकृत समाजवादीले पनि बजेट पारितका पक्षमा मतदान गर्ने यसका सांसद अम्मरबहादुर थापाले बताएका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी पनि बजेट पासकै पक्षमा उभिने अपेक्षा गरिएको छ। जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले बजेटबारे बुधबार मात्र निर्णय गर्ने बताइन्। जनमतका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान बजेट पासका पक्षमा मतदान गर्न आग्रह गरेका छन्। –00–


