पशुपतिको जलहरी १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम

पशुपतिको जलहरी जोखियो, परीक्षण प्रतिवेदन अख्तियारमा

काठमाडौँ, ११ असार । पशुपतिनाथको स्वर्ण जलहरी जोखेर परीक्षणको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । जलहरी जोख्दा १०७।४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७।७६ किलोग्राम हुनुपर्नेमा १०७।४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

जलहरीलाई पुनस् मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।

 

गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो ।

 

राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगड, भट्टरपुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु