गर्भवती महिला र २ वर्षमुनिका बालबालिका भएका ५० चेपाङ परिवारलाई कालिकाले दियो १ सय ५० वटा बाख्रा

कालिका, ७ असार । कालिका नगरपालिकाले पहाडी क्षेत्रका वडाहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १ सय ५० वटा प्रजनन् योग्य कोरली पाठी वितरण गरेको छ ।

पहाडी क्षेत्रका सिमान्तकृत समुदाय (चेपाङ)का ५० परिवारलाई प्रतिपरिवार तीनवटा बाख्रा वितरण गरिएको हो । वडा नं. ९ मा २५ परिवार र वडा नं. ११ का २५ गरी ५० परिवारलाई बाख्रा वितरण गरिएको कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए ।

चेपाङ समुदायमा अझै पोषणको अवस्था सन्तोषजनक नभएकाले वडा नं. ९ र ११ मा गर्भवती महिला भएको र २ वर्षमुनीका बालबालिका भएका परिवारलाई लक्षित गरेर बाख्रा वितरण गरिएको हो । वडा न. ९ मा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था मार्फत बाख्रा वितरण गरिएको छ । सहकारीमा आवद्ध कुषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खड्क कुमारी खत्रीले जानकारी दिइन् ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले बिउपुँजीको रुपमा दिएको यो बाख्रालाई राम्रोसँग रेखदेखगर्न सके आउनेवर्षहरुमा यसले राम्रो फलदिँदै जाने बताए । यसले तपाईहरुको आम्दानी बढाउँछ, तपाईहरुको आर्थिकपाटो बलियो बनाउँछ नगर प्रमुख रेग्मीले भने–त्यसवाट आएको पैसाले पोषणयुक्त खाना जुटाउन सहज हुनेछ । तीनवटा बाख्रालाई राम्रो स्हारगर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने भन्दै नगर प्रमुख रेग्मीले यसलाई सदुपयोगगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले यो कार्यक्रम नगरको तीनवटा वडामा हाल लागु गरिएको जानकारी दिए । नगरक्षेत्रका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले पनि नगरपालिकाले यस्तोखालको कार्यक्रमलाई जोड दिएको बताइन । बाख्रा उत्पादनको पकेट क्षेत्र मानिएको यो नगरपालिकामा खसीबाख्रा उत्पादनमा अब्बल हुन सके यसले चेपाङ समुदायलाई मात्र नभई समग्र नगरबासीहरुलाई फाइदा पुग्ने बताइन । यहाँको उत्पादन र श्रमले सम्बृद्ध नगर बनाउन ठूलो अर्थ राख्ने उपमेयर तमाङको भनाई छ । यो आगमी आर्थिकवर्षदेखि मासुमा समेत नगरपालिका अनुदान दिने नीति लिएको भन्दै उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरिन ।

कार्यक्रममा कालिका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक भण्डारीले चेपाङ समुदायका बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको जानकारी दिए । गर्भमा भएका बेलादेखि जन्मिएको २ वर्ष सम्मका बालबालिकालाई पोषणयुक्त खाना जुटाउन सके बालिबालिकाहरुको दिमाग तेजिलोहुने उनले जानकारी दिए । आर्थिक स्रोतको रुपमा बाख्रापालनलाई लिन सके यसले एकवर्षकै अवधिमा आम्दानीदिन सुरुगर्नेछ उनले भने–आम्दानीवाट आवश्यक पोषणयुक्त खाना जुटाउन समस्या हुँदैन ।

कार्यक्रममा पशु शाखा प्रमुख इश्वरी पौडेल, वडा न.९ का वडा अध्यक्ष निलकण्ठ मगर, सहकारी संस्थाकी उपाध्यक्ष तीर्थमाया श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष खड्क कुमारी खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

–00–

Share:

सम्बन्धित समाचारहरु